काठमाडौं– नारायणी नदीमा आज हालसम्मकै उच्च जलसतह मापन भएको छ । देवघाटस्थित जलमापन केन्द्रमा दिउँसो २ः१० बजे नदीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको हो ।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका अनुसार देवघाटमा जलमापन सुरु भएयताकै यो सबैभन्दा उच्च जलसतह हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह घटेर ११ दशमलव ७५ मिटरमा पुगेको छ ।
देवघाटमा नारायणी नदीको सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनमा जलसतह केही घटे पनि अझै खतराको तहभन्दा दुई दशमलव ७५ मिटर माथि रहेको छ ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख जलविज्ञानी इञ्जिनियर सुमित अधिकारीका अनुसार पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने अवस्था छ ।
कार्यालयका अभिलेखअनुसार यसअघि विसं २०८१ असोज १२ गते नारायणी नदीमा ११ दशमलव ६ मिटर जलसतह मापन भएको थियो। त्यस्तै विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र २०७८ असार २ गते १० दशमलव ५० मिटर जलसतह पुगेको अभिलेख छ ।
देवघाटमा सन् १९६३ देखि नारायणी नदीको जलमापन हुँदै आएको कार्यालयले जनाएको छ । आज मापन भएको ११ दशमलव ९४ मिटर जलसतह त्यसयताकै उच्च हो ।


विश्व खबर 


















