काठमाडौं– निरन्तरको वर्षापछि पहिरो गएर अवरुद्ध भएका मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड र डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा आएका छन्।
मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–६ मा सडक माथिबाट ढुङ्गा, माटोसहितको पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा सवारीसाधन रोकिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी हवल्दार मिनबहादुर थापाका अनुसार डोजर प्रयोग गरी पहिरो हटाएपछि दिउँसोदेखि सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।
यस्तै, डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ मा खसेको पहिरो हटाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार ढुङ्गा र माटोसहितको पहिरो हटाएपछि उक्त सडकखण्डमा अहिले कुनै अवरोध छैन। सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
तर, बेँसीसहर–चामे सडकखण्डका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिएकाले केही ठाउँमा सडक अवरुद्ध छ । धेरै स्थानमा पहिरो गएकाले सडक खुलाउन समय लाग्ने विष्टले बताउनुभयो ।


विश्व खबर 


















