काठमाडौं– वीरगञ्ज महानगरपालिकाले सार्वजनिक स्थान तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री हटाउन थालेको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरी सौन्दर्य कायम गर्ने उद्देश्यले महानगरपालिकाले आइतबारदेखि अभियान सञ्चालन गरेको हो ।
महानगरपालिकाका हरियाली संयोजक प्रकाश खेतानका अनुसार वीरगञ्जका विभिन्न चोक तथा सडकमा रहेका विद्युत्का खम्बामा जथाभावी टाँगिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री हटाउन थालिएको छ ।
महानगरपालिकाले मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा महानगरपालिकाको अनुमति नलिई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । सार्वजनिक स्थानमा विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिनसमेत आग्रह गरिएको छ ।
खेतानले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने तथा अनुमतिविना विज्ञापन सामग्री राख्ने छुट कसैलाई नभएको बताउनुभयो ।
महानगरपालिकाले अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री नराख्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ ।
यसैबीच, वीरगञ्जको मुख्य सडकलाई दसैँअघि सफा तथा व्यवस्थित बनाउने तयारीसमेत भइरहेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरीपुलसम्म सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र विस्तार गर्ने क्रममा घर भत्काउने काम सम्पन्न गरेको जनाएको छ ।


विश्व खबर 


















