करिब २ वर्षसम्म कोरोना महामारीबाट प्राय सबै क्षेत्र प्रभावित भयो । कला तथा मनोरञ्जन क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । कतिपय चलचित्रको सबै तयारी पुरा भएर रिलिज हुने अन्तिम तयारीमा पनि थिए । यो महामारीका कारण यी चलचित्र मात्र होइन, कतिपय म्युजिक भिडियो पनि रिलिज भएनन् ।
कोरोना महामारी कम हुदै गएसँगै पछिल्लो समय एकपछि अर्को नेपाली चलचित्रहरुको रिलिज क्रम बढेको छ । यसै क्रममा दर्शकको अति नै मन जितेका अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माका अब दुई वटा चलचित्र रिलिज हुदै छन् ।
आकाश र पूजाले अभिनय गरेको चलचित्र ‘सम्झना बिर्सना’ यही महिनाको अन्तिम शुक्रबार असार ३१ गते सार्वजनिक हुँदै छ । यो चलचित्रको छायांकन सिक्किममा गरिएको हो । आकाश र पूजाले अभिनय गरेको अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि आगामी १७ भदौमा रिलिज हुने भएको छ ।
यो चलचित्रको १० भदौमा रिलिज गर्ने भनिए पनि अब १७ भदौमा रिलिज गर्ने निर्णय निर्माण टिमले गरेको छ । १० भदौमा अन्य दुई चलचित्र ‘प्रकाश’ र ‘दि सेक्रेट्स अफ राधा’ रिलिज हुने भएपछि सम्हालिन्छ कहिले मन १७ भदौका लागि सारिएको निर्माण पक्षले जनाएको छ ।
सम्हालिन्छ कहिले मनमा पूजा र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य, सोनम तोप्देनलगायतको मुख्य भूमिका छ । यो चलचित्रप्रति आपूmहरू निकै आशावादी रहेको आकाश र पूजाले बताएका छन् । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बूको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अमित बस्नेत, परी राना र अजितकुमार थापाको लगानी रहेको छ ।





















