काठमाडौं- नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागू भएको छ । लिखित परीक्षाको समयमा रिक्त हुने पदबराबर नै अब नियुक्ति हुने भएको छ । यसअघि भर्नाको सूचना प्रकाशित हुँदा जति रिक्त हुन्थ्यो, त्यति मात्र भर्ना गरिन्थ्यो ।
भर्ना प्रक्रियामै करिब एक वर्ष लाग्ने र त्यो अवधिमा हजारौँ पद रिक्त हुने समस्या समाधानका लागि नेपाल प्रहरीले लोकसेवा आयोगसँगको सहमतिमा यससम्बन्धी प्रावधान हेरफेर गरेको हो ।
गत वर्ष २२ असोजमा खुलाइएको असइ भर्नामा तीन सय ६७ जना माग गरिएको थियो । हाल लिखित परीक्षाको नतिजा प्रकाशनको तयारी भइरहेको छ । नतिजा प्रकाशनअघि ७६ पद रिक्त भएकाले त्यसलाई समेत जोडेर चार सय ४३ जना भर्ना गर्न लागिएको छ ।
त्यस्तै, १० मंसिरमा खुलाइएको जवानको भर्नामा एक हजार नौ सय ७१ माग गरिएकोमा पाँच सय तीन पद थपेर दुई हजार चार सय ७४ पद पु¥याइएको छ ।
अबदेखि हरेक पदको भर्नामा लिखित परीक्षापछि रिक्त हुने सबै पदमा भर्ना लिइने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । यसले प्रहरीमा अब ठूलो संख्यामा दरबन्दी रिक्त हुने समस्या समाधान हुने उनको भनाइ छ ।























