२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहारले देशले दुश्परिणाम भोगिरहेको छ: देउवा

सरकारलाई दुरगामी निर्णय नगरी कोरोना नियन्त्रणमा लाग्न कांग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको शुभकामना दिदै राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारले देशले दुश्परिणाम भोगिरहेको बताएका छन् ।

सभापति देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ भन्दै राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारले देशले दुश्परिणाम भोगिरहेको बताएका हुन् ।

उनले भनेका छन्ग- णतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।

कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको छ । यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n