काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटबारे चासो राखेका छन् । सरकारले शनिबार (१५ जेठ)आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको नयाँ भवनबाट बजेट भाषण गर्ने तयारी गरेका छन् । बजेट लगभग तयार भइसकेको बताइएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले वर्तमान कामचलाउ सरकारले आफैँ घोषणा गरेको निर्वाचनको परिणामलाई प्रभावित पार्नेगरी बजेट नल्याउन आग्रह गरेका छन् । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेकै बेला पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त वक्तव्य जारी गरेर यस्तो आग्रह गरेका हुन् ।
पूर्व प्रमुख निर्वातचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र डा. अयोधिप्रसाद यादव तथा कार्यवहाक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गरेर वर्तमान चुनावी एवं कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रहेर ल्याउन भनेका छन् ।
वक्तव्यमा मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम अथवा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारले आगामी निर्वाचनलाई लक्षित गरी पपुलर बजेट ल्याउन लागेको समाचारहरु सार्वजनिक भएपछि पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले बजेटमा चासो राखेका हुन् ।
यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई समेत आफ्नो संवैधानिक दायित्वको ख्याल गर्न आग्रह गरेका छन् । वक्तव्यमा आयोगले आफ्नो संवैधानिक दायित्वको ख्यालगरी सम्बन्धित सबै पक्षलाई समयमै सजग गराउने विश्वास गरिएको छ ।


विश्व खबर 



















