सुर्खेत – स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले आफ्ना उम्मेदवार सिफारिस गर्ने क्रम चलेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि ३ दलका १३ जनाको नाम सिफारिस भएको छ । नेपाली कांग्रेसबाट ७ जना, नेकपा एमाले र एकीकृत समाजवादीबाट ३/ ३ जनाको नाम मेयरको लागि सिफारिस भएको हो । नेकपा (माओवादी केन्द्र) ले भने हालसम्म आफना तर्फबाट उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।
सत्ता गठबन्धन दलभित्र नगरको नेतृत्व कसले लिने भन्नेबारे भने शनिवार बिहानसम्म टुंगो लाग्न सकेको छैन् । अत्याधिक चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनमा भागबन्डा मिल्न नसकेपछि कांग्रेस सुर्खेतले पालिकाहरूलाई आफ्नो पार्टीका उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । परिपत्र पछि कांग्रेस वीरेन्द्रनगर नगर कमिटीले शुक्रबार नै मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको थियो। कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकाल, गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम सिफारिस गरेको छ ।
उता नेकपा एमालेले पनि मेयर उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । एमालेले जिल्ला अध्यक्ष अमृत बिसी, हाल वीरेन्द्रनगर नगरपालिकामा उपमेयर रहेकी मोहनमाया ढकाल र कुलमणि देवकोटाको नाम मेयरको उम्मेवारका लागि प्रदेश कमिटीमा सिफारिस गरेको हो । एमालेले अन्य पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो आज लगाउने बताइएको छ ।
त्यस्तै सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले पनि वीरेन्द्रनगरको मेयर र उपमेयरको उम्मेदवारका लागि नामहरू सिफारिस गरिसकेको छ । एकीकृत समाजवादीले धना शाही, खगेन्द्र पोखरेल र सुरेन्द्र बिसीको नाम वीरेन्द्रनगरको मेयरको उम्मेदवारको लागि सिफारिस गरेको जिल्ला अध्यक्ष मोहन बडुवालले जानकारी दिए । बडुवालले वीरबहादुर राना भोटे, नन्दा रेग्मी र रामुकमार दर्र्लामीको नाम उपमेयरका लागि सिफारिस गरेको बताए। माओवादी केन्द्रले भने वीरेन्द्रनगरको मेयर र उपमेयरको लागि नाम टुंग्याइसकेको छैन् ।


विश्व खबर 




















