images
images
  • साझाका अपांगमैत्री बिजुली बस : एक पटकको चार्जमा २ सय किलाेमिटर गुड्ने

    काठमाडौं-साझा यातायातले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । परीक्षणका लागि पहिलो चरणमा तीन बस ल्याइएकामा प्राविधिक परीक्षण गरिने र त्यसपछि थप बस ल्याउने गरी तयारी भएको छ । नेपाल भित्र्याइएका तीन बसको पहिले साझा आफैँले परीक्षण गर्ने सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए ।

    उनका अनुसार यातायात व्यवस्था विभागले पनि सञ्चालन पहिले गर्नुपर्ने आवश्यक परीक्षण गर्नेछ । सरकारले कहाँ र कहिले रुट दिन्छ त्यसैका आधारमा बस सञ्चालन गरिने उनले बताए । उनले भने, ‘अहिले परीक्षणकै लागि सञ्चालन गरिनेछ ।’ साझाले हाल सञ्चालन गरिरहेका ठूला बसभन्दा विद्युतीय बस थोरै सानो रहेको कम्पनीले जनाएको छ । यो बसमा २६ सिट रहेको छ र क्षमता १६१ किलोवाट/आवर रहेको छ । अहिले बससँगै दुई चार्ज आएको छ । बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । उनले भने ‘राति तीन-चार घण्टा चार्ज गरेपछि अर्काे दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।’ अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । बसको लम्बाइ साढे आठ मिटर रहेको छ । यो बस अपाङ्तामैत्री छ । होचो (लो फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तब्यका बारेमा जानकारी र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । उनले भने, ‘अरु बसभन्दा यी बस यात्रुका लागि बढी आरामदायी छन् ।’

    पेट्रोलियम पदार्थका सवारीसाधन जस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमा भन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन) पनि कम छ । पेट्रोलियम पदार्थबाट चल्ने बसभन्दा विद्युतीय बसका लागि राम्रो सडक आवश्यक भएकाले उपत्यकाका सबै स्थानमा चलाउन नसकिने साझाको अनुमान छ । अहिले उपत्यकाका खाल्डा भएका सबै सडकमा गुडाउन नसकिने हुनसक्ने सञ्चालक सदस्य तुलाधरले बताए । सडक पूरै बिग्रिएमा चलाउन नसकिने भए पनि सानो खाल्डोले फरक नपर्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । उनले भने, ‘अहिलेका लागि दक्षिणकाली जाने सडकमा गुडाउन सकिँदैन । लगनखेल–चक्रपथ वा भक्तपुरको सडकमा चलाउन सकिनेछ ।’

    यसअघि पनि सोही कम्पनीको दुई बस काठमाडौँ आएका थिए । सो बस हाल गुण एयरलाइन्सले विमानस्थलमा सञ्चालन गरिरहेको छ । सो बस पहिले सडकमा गुडाएर हेरेर चल्नसक्छ भनेर परीक्षण गरिएको सञ्चालक समिति सदस्य तुलाधरले जानकारी दिए। अहिले बसको ब्याट्रीको क्षमता केही बढाइएको छ । अहिले तीन बस सञ्चालन गरेर परीक्षण भइरहँदा उता थप बसको पनि निर्माण अघि बढिरहेको छ । सबै ४० वटै बस चार/पाँच महिनामा आइसक्ने उनले बताए ।

    साझाले गत असोज २२ गते चीनको सीएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images