काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र आपसी सद्भावका माध्यमबाट जोड्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
तिहार (शुभ दीपावली) २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ । तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उनको भनाइ छ ।
उपराष्ट्रपति यादवले तिहारका विभिन्न दिन र परम्पराले जीवनका फरक–फरक पक्षको महत्व उजागर गर्ने बताएको छ। उनका अनुसार काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व तथा समृद्धि र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई प्रतिबिम्बित गर्छन् ।
लक्ष्मीपूजाले समृद्धिसँगै सदाचार र स्रोतको सदुपयोग गर्नुपर्ने सन्देश दिने उल्लेख गर्दै उनले देउसी–भैलोले गाउँदेखि सहरसम्म सामूहिक आनन्द, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउने बताएको छ । भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र आजीवन आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्ने उनको सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति यादवले मधेस क्षेत्रमा प्रचलित गोवर्द्धन पूजा, सामूहिक रूपमा खेलिने ‘हुक्का–लोली’ ९हुक्कापाति० र ‘हुर्राहुरी’लाई जीवन्त लोकसंस्कृतिका महत्वपूर्ण प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ। गोवर्द्धन पूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने र हुक्का–लोली तथा हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा र सामुदायिक एकतालाई बलियो बनाउने उनको भनाइ छ ।
यस्ता परम्पराले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले तिहारलाई दीप प्रज्वलनको पर्वमा मात्र सीमित नराखी नेपाली सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको उत्सवका रूपमा लिनुपर्ने बताउनुभएको छ । घरआँगनमा बालिने दीपले अन्धकार हटाउनुका साथै आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो फैलाउने उनको सन्देशमा उल्लेख छ ।
प्रविधिको विकाससँगै मानवीय सम्बन्ध, सामाजिक मूल्य र सांस्कृतिक पहिचान जोगाउनु साझा दायित्व बनेको उल्लेख गर्दै उहाँले तिहारजस्ता पर्वले मौलिक संस्कृति, लोकपरम्परा, पारिवारिक मूल्य र सामुदायिक जीवनशैलीको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने बताएको छ । तिहारलाई राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनसँग जोडेर हेर्नुपर्ने उहाँको धारणा छ ।
उपराष्ट्रपति यादवले तिहारले आपसी वैमनस्यता, घृणा, विभेद र असहिष्णुताभन्दा माथि उठेर सहिष्णुता, सामाजिक न्याय, पारस्परिक सम्मान र राष्ट्रिय उत्तरदायित्वको भावना विकास गर्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।
उज्यालोको यस पर्वले सम्पूर्ण नेपालीलाई राष्ट्र निर्माणको साझा यात्रामा एकताबद्ध गर्दै समृद्ध, आत्मनिर्भर र सभ्य नेपालको सपना साकार पार्ने ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक गौरव, लोकतान्त्रिक मूल्य, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता थप सुदृढ होऊन् भन्ने शुभकामना दिएको छ ।






















