काठमाडौं-घरजग्गा व्यवसायीहरूले अहिले जग्गा बेच्ने विभिन्न अफरहरू ल्याइरहेका छन् । लामो समयदेखि जग्गा विक्री नभएर हैरान भएका व्यवसायीहरूले कतै मूल्य घटाएर एकमुस्ट बेचिरहेका छन् भने कतै किस्ताबन्दीको सुविधा दिएर जग्गा विक्री गरिरहेका छन् ।
काठमाडौं उपत्यकामा यतिबेला डेढ दर्जनभन्दा बढी ठाउँमा बैंक तथा वित्तीय संस्थाबाट ऋणको व्यवस्थ गरेरै किस्ताबन्दीमा जग्गा बेच्नेहरू बढेका छन् ।उपत्यकामा गोलढुङ्गा, धापाखेल, सिपाडोल, गोदावरी, चापागाउँ, टौखेल, चापागाउँ बोहराटार, गोकर्ण, लामाटार, बुखेल, लगायतका ठाउँमा किस्ताबन्दीमा घडेरी विक्रीका लागि राखिएको छ ।
प्रतिआना १३ लाख रुपैयाँदेखि २८ लाख रुपैयाँसम्म मूल्य
यी ठाउँमा विक्रीका लागि राखिएका घडेरीहरू प्रतिआना १३ देखि २२ लाख रुपैयाँ सम्मका छन् । १३र १६ देखि २०र२२ फिटसम्म चौडा बाटो भएका ठाउँमा यो मूल्यमा घडेरी विक्रीका लागि राखिएको हो ।कतिपय ठाउँमा ४० प्रतिशत डाउन पेमेन्ट मागिएको छ भने कतिपय ठाउँमा ६० प्रतिशतसम्म डाउन पेमेन्ट मागिएको छ । ५ देखि १० वर्षसम्म किस्ता तिर्न मिल्ने गरि घडेरी विक्रीमा राखिएको छ । ब्यजादर भने कम्पनी पिच्छे फरक फरक रहेको छ ।
कुन ठाउँमा कति घडेरी विक्रीमा ?
मुड्खु भन्ज्याङमा ३५ घडेरी
काठमाडौंको मुड्खु भन्ज्याङमा ३५ घडेरी किस्ताबन्दीको सुविधासहित विक्रीमा राखिएको छ । जग्गाको मूल्य भने प्रतिआना १४ लाख ७५ हजार रुपैयाँदेखि १७ लाख ७५ हजार रुपैयाँ सम्म रहेको छ । यो जग्गा किन्न ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ भने ५० प्रतिशत बैंक वित्तीय संस्थाबाट ऋण पाइने छ । सहकारीबाट ऋण लिएमा १६ प्रतिशत र बैंकबाट ऋण लिएमा १३ प्रतिशत ब्याजदर पर्ने कम्पनीले बताएको छ ।
गोदावरीमा ६८ घडेरी
गोदावरी १ गोदामचौरमा २० घडेरी, बोहराटारमा २६ घडेरी र टौखेलमा २२ घडेरी गरि ६८ ओटा घडेरी किस्ताबन्दीमा विक्रीमा राखिएको छ । यी जग्गाको मूल्य प्रतिआना १३ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म रहेको छ ।
गोदावरी बोहराटारका २६ घडेरी प्रतिआना १३ लाख ५० हजारदेखि, टौखेलका २२ घडेरी प्रतिआना १७ लाखदेखि र गोदामचौरका २२ घडेरी २० लाख रुपैयाँदेखि शुरु मूल्य राखेर विक्रीमा राखिएको छ । ५० प्रतिशत डाउन पेमेन्ट र ५० प्रतिशत बैंकिङ ऋण लिएर जग्गा किन्न सकिने ड्रिय हाउस कम्पनीका प्रतिनिधिले बताएका छन् ।
गोकर्णमा ९७ र भक्तपुरमा ६० घडेरी विक्रीमा
गोकर्ण नयाँपाटीमा भने ६० प्रतिशत डाउनपेमेन्ट र ४० प्रतिशत बैंक ऋण सुविधा सहित ९७ घडेरी विक्रीमा राखिएको छ । जग्गाको मूल्य प्रतिआना २० लाख रुपैयाँदेखि शुरु मूल्य रहेको छ ।
भक्तपुर सिपाडोलमा ६० ओटा घडेरी प्रतिआना २२ लाख रुपैयाँदेखि विक्रीमा राखिएको छ । किस्ताबन्दीको सुविधा दिइएको यी घडेरी किन्न बढीमा ३० लाख रुपैयाँ सम्म बैंकरसहकारीबाट ऋण लिन सकिने छ । बाँकी रकम भने खरीदकर्ता आफैले व्यवस्था गर्नुपर्ने कम्पनीले बताएको छ ।
धापाखेल र लामाटारमा ११८ घडेरी विक्रीमा
धापाखेल र लामाटारमा ११८ ओटा घडेरी बैंकिङ ऋणको सुविधासहित विक्रीमा राखिएका छन् । धापाखेल नागदहका १०० घडेरी प्रतिआना २८ लाख रुपैयाँदेखि विक्रीमा राखिएको छ भने लामाटारका १८ ओटा घडेरी प्रतिआना १५ लाख रुपैयाँदेखि विक्रीमा राखिएको छ ।
चापागाउँमा ७० घडेरी विक्रीमा
चापागाउँस्थित न्यौपाने गाउँमा ७० ओटा घडेरी किस्ताबन्दीमा विक्रीमा राखिएको छ । प्रतिआना २२ लाख रुपैयाँदेखि शुरु मूल्य रहेका घडेरी किन्न पनि ५० प्रतिशत जस्तो रकम खरीदकर्ता आफैले व्यवस्था गर्नुपर्ने छ ।























