काठमाडौं-काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका ९ मालपोत कार्यालयबाट ८ हजार ८५३ घरजग्गा किनबेच भएका छन् ।
चैतमा ललितपुरको लगनखेलबाट २ हजार ९६, ललितपुरकै गोटीखेलबाट ४१, भक्तपुरबाट १९ सय ४९, डिल्लीबजारबाट ३१५, चावहिलबाट ७५८, कलंकीबाट १७ सय २४, साँखुबाट १ हजार ३८, मनमैंजुबाट ६३९ र टोखाबाट २९३ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
यस्तै, लगनखेलबाट ५८ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन हुँदा भक्तपुरबाट ३२ करोड ४० लाख, डिल्लीबजारबाट ३४ करोड ५० लाख, चावहिलबाट ३० करोड ३६ लाख, कलंकीबाट ४० करोड ५० लाख, साँखुबाट ११ करोड ५८ लाख, मनमैजुबाट १४ करोड ६८ लाख, टोखाबाट ९ करोड ४१ लाख र गोटीखेलबाट ११ लाख रुपैयाँ राजश्व संकलन भएको देखिन्छ ।
काठमाडौं उपत्यकामा घरजग्गा किनबेच कहाँ धेरै भइरहेको छ ?

काठमाडौं उपत्यका सबैको रोजाइमा परेपछि घरजग्गाको मूल्य अचाक्ली बढिसकेको छ । अझ पछिल्लो समय मुख्य शहरी क्षेत्रमा खाली जग्गा पाउन समेत मुस्किल पर्न थालेको छ । खाली जग्गा भएको उपत्यकामा रिङरोडबाहिर कुनाकाप्चातिरै पुग्दा पनि आनाको १५–२० लाख रुपैयाँभन्दा सस्तोमा जग्गा भेट्याउन मुस्किल पर्छ ।अहिले काठमाडौंमा कुन ठाउँतिर घरजग्गा बढी किनबेच भइरहेका छ त ?तुलनात्मक रुपमा खाली जग्गा बढी भएको र मूल्य पनि सस्तो भएको ठाउँतिर घरजग्गा बढी किनबेच भइरहेको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ ।
अहिले उपत्यकाका तीन जिल्लामा रहेका ९ मालपोत कार्यालयमध्ये ६ वटा काठमाडौंमा दुईवटा ललितपुरमा र एउटा भक्तपुरमा छ । ललितपुरको गोटीखेल मालपोत कार्यालयबाट भने कारोबार नगन्यमात्र हुने गर्छ ।अहिले सबैभन्दा बढी घरजग्गा किनबेच भक्तपुर, ललितपुर, थानकोट, कलंकी, दक्षिणकाली, फर्पिङ लगायतका क्षेत्रहरुमा भइरहेको उपत्यकाका मालपोत कार्यालयको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक बर्षको पहिलो ८ महिना साउनदेखि फागुनसम्मको घरजग्गा किनबेच अवस्था

चालु आर्थिक बर्षको पहिलो ८ महिनामा उपत्यकाभित्र सबैभन्दा बढी घरजग्गा किनबेच भक्तपुरमा भएका छन् । भक्तपुरमा साउनदेखि फागुनसम्म १६ हजार ६४२ घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।यस्तै, ललितपुरमा लगनखेल र गोटीखेल दुई मालपोत कार्यालयबाट १६ हजार ६०८ घरजग्गा किनबेच भएका छन् ।
काठमाडौंमा ६ वटा मालपोत कार्यालय छन्, जसमध्ये कलंकी मालपोत कार्यालयबाट मात्रै ८ महिनामा १३ हजार ८२४ घरजग्गा किनबेच भएका छन् । यदि ६ वटा मालपोतको तथ्यांक जोड्ने हो भने काठमाडौंमा नै सबैभन्दा बढी घरजग्गा किनबेच भएको देखिन्छ ।
थानकोट, किर्तिपुर, फर्पिङ, दक्षिणकाली लगायत क्षेत्रमा घरजग्गा किनबेच धेरै हुँदा किर्तिपुर मालपोत धेरै घरजग्ग किनबेच गर्नेमा परेको हो ।मुख्य शहरभित्रका क्षेत्रहरुको घरजग्गा किनबेच हुने डिल्लीबजार मालपोतबाट सबैभन्दा कम २ हजार ९ सय ४२ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
साँखु मालपोतबाट ८ महिनामा ८ हजार ५९८ घरजग्गा किनबेच हुँदा चावाहिल मालपोतबाट ६ हजार ९४१, टोखाबाट २ हजार ५९० र मनमैजू मालपोतबाट २ हजार ५४२ घरजग्गा किनबेच भएका छन् ।अहिले ललितपुरमा धापाखेल, साना गाउँ, गोदामचौरी, विष्टछाप, गोदावरी, लुभु, खोकना, लेले लगायत दक्षिण भेगतिर बढी घरजग्गा किनबेच भइरहेको घरजग्गा व्यवसायी बताउँछन् ।























