images
images
  • सरकारलाई निर्वाचन आयोगका पूर्वप्रमुखहरुको आग्रह- ‘मतदातालाई प्रभावित पार्ने लक्षित कार्यक्रम बजेटमा नराखियोस्’

    काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुखहरुले अब आउने बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन्। पाँच जना पूर्वप्रमुखहरुले एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त आग्रह गरेका हुन्।

    ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिध्दान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ उक्त वक्तव्यमा भनिएको छ। यस विषयमा निर्वाचन आयोगले सम्बन्ध पक्षलाई समयमै सजग गराउनुपर्नेसमेत उनीहरुको आग्रह छ। भनिएको छ, ‘यस विषयमा आफ्नो संबैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

    आग्रहपत्रमा निर्वाचन आयोगका पूर्वप्रमुखहरु सूर्यप्रसाद श्रेष्ठ भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङको हस्ताक्षर रहेको छ।

    प्रतिक्रिया दिनुहोस्