काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनताको ढाड सेक्ने गरी हप्तैपिच्छे भईरहेको मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न माग गरेको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लगिरहेको भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारलाई माग गरेको हो ।
अब त अति भो ! भन्दै अनेरास्ववियुले माग सम्बोधन नभए गठबन्धन सरकारको विरुद्धमा आन्दोलनको आँधीवेरी ल्याउने चेतावनी पनि दिएको छ ।
रेमिटेन्सको माध्यमले जेनतेन धानिरहेको मुलुकको अर्थतन्त्रलाई कमजोर पार्न बग्रेल्ती खुलिरहेका हुण्डीहरुलाई अनुगमन र कारबाही गर्नुको साटो प्रोत्साहन भइरहेको अनेरास्ववियुको आरोप छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको ढाड सेक्ने गरी एलपी ग्याँस र पेट्रोलियम पदार्थको हप्तैपिच्छे भइरहेको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजीवी जनताको जीवनयापन अत्यन्तै कष्ठकर अवस्थामा पुगेको छ । छिमेकी मुलुक भारतलाई प्रतियुनिट ४ रुपैयाँमा विद्युत् विक्री गरी ३८ रुपैयाँमा पुनः खरिद गरी विद्युत् प्राधिकरणले दक्षिणको दलाली गरिरहेका कारण यो परमादेशी सरकार आफ्नो मुलुकको भन्दा छिमेकीको हितमा रहेका ब्यहोरा पुष्टि भएको छ ।’
हेर्नुस विज्ञप्तिको पुर्णपाठ :
मिति- २०७८।१२।२३
अब त अति भो !
जनादेशको सरकारलाई विस्थापन गरि परमादेशको गर्भबाट जन्मेको वर्तमान गठबन्धन सरकारले हाम्रो मुलुकलाई अध्याँरो मार्ग तर्फ लगिरहेको अवस्थाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।
जनताको ढाड सेक्ने गरी एलपी ग्याँस र पेट्रोलियम पदार्थको हप्तैपिच्छे भईरहेको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजीवी जनताको जीवनयापन अत्यन्तै कष्ठकर अवस्थामा पुगेको छ । कालाबजारिया, घुसखोरीहरुको विगविगी बढिरहेको छ । सेटिङको माध्यमबाट ठेक्काहरु आफ्ना कार्यकर्ताहरुलाई दिने दलाली प्रवृत्ती दिन प्रतिदिन मौलाईरहेको छ ।
रेमिटेन्सको माध्यमले जेनतेन धानिरहेको मुलुकको अर्थतन्त्रलाई कमजोर पार्न बग्रेल्ती खुलिरहेका हुण्डीहरुलाई अनुगमन र कारबाही गर्नुको साटो प्रोत्साहन भइरहेको छ । छिमेकी मुलुक भारतलाई प्रतियुनिट ४ रुपैयामा विद्युत विक्री गरि ३८ रुपैयामा पुनः खरिद गरि विद्युत प्राधिकरणले दक्षिणको दलाली गरिरहेका कारण यो परमादेशी सरकार आफ्नो मुलुकको भन्दा छिमेकीको हितमा रहेका व्यहोरा पुष्ठि भएको छ । तसर्थ परमादेशी सरकारलाई तुरुन्त आफ्नो नालायकिपन त्यागेर मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र देशको आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न अनेरास्ववियु जोडदार माग गर्दछ ।
अन्यथा नेपाली जनताको दुर्भाग्यको रुपमा चलिरहेको यो जनविरोधी, राष्ट्रघाती र विदेशीहरुका निम्ती कम्फरटेवल देखिएको गठबन्धन सरकारको विरुद्धमा आन्दोलनको आँधीवेहरी ल्यायर यो सरकारका कुकर्महरुको भण्डाफोर गरि घुँडा टेकाउन अनेरास्ववियु बाध्य हुनेछ। साथै हाम्रा मागहरुलाई साथ समर्थन र सहयोग गरिदिनुहुन सम्पूर्ण सचेत नागरिकहरुलाई समेत हामी हार्दिक आहन गर्दछौं ।
हार्दिक अभिवादन सहित १
सुनिता बराल
अध्यक्ष























