काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार बिहान जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।
आफ्नै निवास बोहोराटारमा उनले केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने-नगर्ने विषयमा धारणा लिएर जानका लागि छलफल गरेका हुन् । त्यसक्रममा जिल्ला सभापतिहरूले पार्टीका सम्बन्धित तहलाई निर्णयको अधिकार दिन आग्रह गर्दै विधानविपरीत केन्द्रबाटै गठबन्धनको निर्णय नगर्न सुझाव दिएका छन् ।
आवश्यकता र औचित्यका आधारमा गठबन्धन गर्ने वा कोसँग गठबन्धन गर्ने भन्ने निर्णय पार्टीको सम्बन्धित निकायलाई दिन उनीहरूले सुझाव दिएका छन् ।
जिल्ला सभापतिहरूले नेता पौडेललाई ‘महाधिवेशनमा दुर्घटना हुँदा सभापतिमा देउवा दोहोरिएको’ भन्दै सुधारमा लाग्न आग्रह गरेका थिए ।
“१४औँ महाधिवेशनमा नहुनु दुर्घटना भयो । अब संस्थापनइतरका सबै एक ढिक्का भएर अघि बढ्नोस्,” जिल्ला सभापतिहरूले पौडेललाई दिएको सुझावबारे केन्द्रीय सदस्य मधु आचार्यले भने, “तपाईं सबैभन्दा वरिष्ठ नेता भएकाले डा. शेखर, डा. शशांक, प्रकाशमानसहितका नेताहरूलाई एकसाथ हिँडाउन संवाद सुरु गर्नोस् ।”
उनले धेरै नेता–कार्यकर्ताले असुरक्षित महसुस गरिरहेको भन्दै उनीहरूको व्यवस्थापनका लागि संस्थापनइतर पक्ष एक भएर अघि बढ्न आग्रह गरेका हुन् ।























