बाँके- जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका उनी सात दिनपछि रिहा भएका छन् । बाँके जिल्ला अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको बाँकेका प्रहरी श्रोतले बताएको छ ।
जुम्लाकी ४० वर्षीया महिलाले आफूलाई होटेलमा बोलाएर सांसद बानियाँले जबर्जस्ती करणी गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा बाँके प्रहरीले उनलाई १६ फागुनमा नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । ‘बाँके प्रहरीले जबर्जस्ती करणी गरेको दाबीसहित अदालतमा कागजात पेस परेको थियो, तर अदालतले उहाँ (मोहन बानियाँ) लाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ,’ प्रहरी श्रोतले भन्यो ।
काठमाडौंबाट नेपालगन्ज आउने क्रममा पक्राउ परेका सांसद बानियाँले आफूले जाहेरी दिने ४० वर्षीया महिलालाई जबर्जस्ती करणी नगरेको दाबी गर्दै आएका छन् । उनले अदालतमा पनि सोही बयान दिएको कानुन व्यवसायी विकास आचार्यले बताए । ‘उहाँ (बानियाँ) लाई सादा तारिखमा अदालतले रिहा गरेको छ । मुद्दा विचाराधीन छ । सजाय हुने–नहुने अन्तिम फैसलापछि मात्र थाहा हुन्छ,’ उनले भने ।
सांसद बानियाँले १९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । ती महिलाले सांसद बानियाँविरुद्ध २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै नेपालगन्जस्थित होटेलमा बोलाएको र त्यहीँ आफूलाई जबर्जस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी थिइन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् । उनी निलम्बनमा परिसकेका छन् ।























