images
images
  • कोरोना कहरमा लुम्बिनी बुद्धजयन्ती : औपचारिकतामा सीमित


    कपिलबस्तु । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५ औं बुद्धजयन्ती मनाइएको छ । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा मात्रै सामान्य रूपमा बुद्धजयन्ती मनाइएको हो  ।

    सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका छन् ।

    लुम्बिनी विकास कोषले औपचारिकताको लागि २५६५ वटा दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा बुद्धजयन्ती मनाएको हो ।

    विगतका वर्षमा राष्ट्र प्रमुख, सरकार प्रमुख तथा बुद्ध र लुम्बिनीसँग सरोकार राख्ने विभिन्न निकायका प्रमुखहरुको उपस्थितिमा शान्ति र्‍याली, दीप प्रज्वलन, विद्यार्थीहरुलाई छात्रवृत्ति तथा लुम्बिनिको विकासमा सहयोग पुर्‍याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै बुद्धजयन्ती मनाउने गरिन्थ्यो ।

    लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण गतबर्ष जस्तै यसबर्ष पनि बुद्ध पूजापाठ, दीप प्रज्वलन र परित्राण पाठ गरेर सामान्य रूपमा मनाएको बताए ।आज साँझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा २५६५ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु महास्थविरले मायादेवी मन्दिर परिसरमा दीप प्रज्ववलन र खिर दान गरी बुद्धजयन्तीको शुभारम्भ गरे ।

    लुम्बिनीमा रहेका सबै गुम्बा र बिहारको प्रतिनिधित्व हुनेगरी भिक्षु तथा भन्तेहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलिको भिडियो सन्देश प्रसारण गरिएको थियो ।

    त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भानुभक्त ढकालको शुभकामना सन्देश पनि वाचन गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी गुरुयोजनाको काम पूरा गरी बृहत लुम्बिनी गुरुयोजनाको लागि सरकारले योजना बनाइरहेको बताए ।

    उनले लुम्बिनीमा निर्माणाधीन सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी बर्षको बुद्धजयन्ती सोही सभाहलमै गर्न सकिने बताए । उनले लुम्बिनी मानवजातिकै पवित्र भूमि भएको उल्लेख गर्दै बुद्धिजमको माध्यमबाट विश्वका मानव समुदायको कल्याण गर्न सकिने बताए ।

    मुख्यमन्त्री पोखरेलले विश्वका बुद्ध धर्म मान्ने मुलुकका गुम्बाहरु यहि निर्माण भइरहेकोले बुद्धिजमलाई विश्व समुदायले कसरी ग्रहण गरेको छ भन्ने पुष्टि भएको उल्लेख गर्दै लुम्बिनी बुद्धिजमको माध्यमबाट बिश्वले हेर्ने थलो बनेको बताए ।

    कोभिड संक्रमितहरुको संख्या घटिरहेपनि विज्ञहरुले तेस्रो लहर आउनसक्ने भनिरहेकोले स्वास्थ्य प्रोटोकलको पालना गर्न उनले सबैलाई आग्रह गरे ।

    लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनी गुरुयोजनाका बाँकी काम निर्माणको लागि ४ अर्बको टेण्डर आह्वान गरिएको र अबको साढे २ वर्षभित्र गुरुयोजनाको काम सम्पन्न हुने बताए ।

    सिद्धार्थ गौतम जन्मिएको, बुद्धत्व प्राप्त गरेको र महापरीनिर्वाण भएको दिनसमेत बैशाख पूर्णिमाकै दिन रहेकोले बुद्ध धर्ममा बैशाख पूर्णिमाको महत्व अत्यन्तै धेरै रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images