images
images
  • एआईजी बढुवा: २० डीआईजीमा को बन्लान् तीन एआईजी ?

    काठमाडौं- गृह मन्त्रालयले एआईजी बढुवाका लागि सिफारिसको तयारी गरेको छ । आज मन्त्रालयमा बढुवा समितिको बैठक बस्ने तयारी छ ।

    सोही बैठकले तीनजना एआईजीको बढुवा सिफारिस गर्नेछ । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ ।

    सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् । तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।

    एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् । हाल नेपाल प्रहरीमा जनपदतर्फ २० डीआईजी छन् । २० मध्ये १३ जना हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची छन् । अरू सात आईजीपी क्षेत्रीकै वैकल्पिक हुन् । २० जना नै एआईजीका दाबेदार हुन् ।

    आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् ।

    त्यसबाहेक आईजीकै ब्याचीहरू डीआईजी वसन्त पन्त, ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपीका सबै ब्याचीले ३० वर्षे सेवाहदका कारण वैशाख १९ मै अवकाश पाउनेछन् ।

    हाल कायम रहेका पाँच एआईजीमध्ये विश्वराज पोखरेल र सहकुल थापा आईजीपी क्षेत्रीका वैकल्पिक हुन् । तीनजना थपिनेमध्ये आईजीपीका ब्याची थपिन्छन् वा पोखरेल, थापाका ब्याची थपिन्छन् त्यसले आगामी आईजीपीमा प्रतिस्पर्धीको टुंगो लाग्नेछ ।

    हाल एआईजीको दौडमा वसन्त पन्त, ईश्वरबाबु कार्की, उमेश रन्जितकार, प्रकाशजंग कार्की, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बीसी, गणेश ऐर, दिवेश लोहनीलगायत छन् ।

    तर, एआईजी बन्ने चर्चामा धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्कीको नाम छ ।

    एआईजी बन्न पाए आफूहरूको आईजीपीको दौड कायमै रहने सिंह, धानुक, सुवेदी, लामाहरूको बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images