काठमाडौं- यो साता सुनको सुनको मूल्य प्रतितोला १९०० रुपैयाँले बढेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ उकालो लागेको नेछ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले उकालो लागेको हो ।
यससँगै, हिजो शुक्रबारसम्ममा छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । यस्तै, हिजोको बजार मूल्यअनुसार नेपाली बजारमा तेजाबी सुनको मूल्य ९९ हजार ४०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबारको तुलनामा ३३०० रुपैयाँले बढी हो । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
शुक्रबार ९८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन यो साताको आइतबार १४०० रुपैयाँले घटेको थियो । यस्तै, सोमबार १६०० ले बढको सुनको मूल्य मंगलबार ६०० ले घटेको थियो । यसैगरी, बुधबार फेरी १९ सय रुपैयाँले बढे पनि बिहीबार ५०० ले घटेर पुनः शुक्रबार ९०० रुपैयाँ बढेको हो ।
साताको पहिलो दिन (आज) आइतबार १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन आयातमा आधा कटौती:
नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।
रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ । मौद्रिक नीतिको समीक्षमार्फत नै उसले विलाशीताको वस्तुमाथि नियन्त्रण गर्ने बताएको थियो ।
चालु आर्थिक वर्षको माघसम्म नेपालमा ३ हजार ६४३ किलो सुन आयात भइसकेको छ । उक्त परिमाणमा सुन आयातका लागि मुलुकबाट २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको भन्सार विभागले जनाएको छ ।
सुन आयातको कोटा कटौतीको परिपत्र नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ । दैनिक २० किलो सुन बजारमा खपत भइरहेको बेला यस्तो निर्णय आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मूल्य बढेका कारण अहिले कारोबार खस्किए पनि वैशाखमा बिहेको लगन सुरुभए पछि भने घटाइएको कोटाबाट नपुग्ने उनले बताए ।


विश्व खबर 




















