काठमाडौं- एक नाबालिग गायिकाले जबरजस्ती करणी कसुरमा उजुरी दिएपछि अहिले अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन् ।
पछिल्लो समय एक टेलिभिजन कार्यक्रममार्फत ‘रियल हिरो’ को उपाधिसमेत पाएका पललाई सात दिन हिरासतमा राख्ने अदालतबाट अनुमति लिएर तनहुँ प्रहरीले अनुसन्धान जारी राखेको छ । यस प्रकरणमा सार्वजनिक गरिएका अडियोले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । तर, कानुनी दायरामा पुगेको विषयमा जथाभावी बोलेर प्रहरी अनुसन्धानमा प्रभाव पार्न नहुने मत पनि सार्वजनिक भएका छन् ।
तर, आफू प्रहरी नियन्त्रणमा पर्नुअघि आरोपी पलले सार्वजनिक गरेको अडियोका कारण नाबालिका ‘साइबर बुलिङ’को शिकार भइरहेकी भन्दै आवाज पनि उठिरहेको छ ।
नाबालिकाले जाहेरी दिएपछि सामाजिक सञ्जालमार्फत निकै आलोचनासमेत खेप्नु परेको छ । विशेषत फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमार्फत उनलाई भद्दा प्रतिक्रिया जनाउनेको कमी देखिँदैन । आफूलाई भएको दुर्व्यवहारको निन्दा गर्दै कानुनको सहयोग लिइरहेकी उक्त नाबालिकाको सामाजिक सञ्जालमा चरित्र हत्या भइरहँदा घटनाबारेमा मौनता साँध्ने पनि धेरै छन् ।
विशेषतः फिल्मसँग जोडिएको विधाअन्तर्गत पर्ने सेलिब्रेटीहरूले यसबारे आफ्नो धारणा राख्न सकेका छैनन् । मीटू र जिरो टोलरेन्सजस्ता अभियानमार्फत आफूलाई भएको अन्यायका विरुद्ध आवाज उठाउने केही अभिनेत्रीहरू समेत यी नाबालिकाले जाहेरी दिएपछि खेपिरहेको ‘साइबर बुलिङ’मा मौन छन् ।
नाबालिकाले जाहेरी दिएकै कारण ‘साइबर बुलिङ’ को शिकार हुनुपरेपछि मौनता साँधेको आरोप खेपिरहेका केही अभिनेत्रीहरूले आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार बिहानै अभिनेत्री रेखा थापाले नाबालिकालाई संरक्षण गर्नुपर्ने दायित्व समाजको भएको बताइन् । आफ्नो आधिकारिक फेसबुक पेजमा उनी लेख्छिन्, ‘समाजको दायित्व नाबालिकालाई संरक्षण गर्नु हो । उनको को–कोसँग कस्ता सम्बन्ध थिए ? जस्ता तर्कहिन कुरा गरेर नैतिक मापदण्ड र हिलो छ्याप्ने लज्जाजनक व्यवहार नदेखाउँ ।’
अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिकाको संरक्षण गर्ने जिम्मा राज्यको भएको र आफूहरू पनि राज्यको हिस्सेदार भएकोले दायित्व पूरा गर्ने बताइन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नाबालिगको करमै पनि शारीरिक सम्पर्क भएको छ भने त्यसलाई कानुनले बलात्कार मान्ने र कानुनमा यो सम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै नाबालिगको विश्वास तोड्नेको पक्षमा समाज उभिने कल्पना पनि गर्न नसकिने बताएकी छिन् ।
अभिनेत्री सञ्चिता लुइँटेलले पनि आपत्तिजनक भिडियोहरू भाइरल भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
हेर्नुस् सेलिब्रिटीले सामाजिक संजालमा सार्वजनिक गरेको धारणा उनीहरुकै शब्दमा :
विनिता बराल
लाग्छ,म पनि सधै उस्तै त्रासमा बाँच्ने दुईवटा छोरीहरुकी आमा हुँदैछु । कसरी जोगाउने यी नानीहरूलाई रुकस्तो शिक्षा दिए उनीहरुले आफूलाई बचाउन सक्नेछन् ? कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतन राख्न सक्लान् ? वा कुन कुनामा सीमित राख्न सके त्यो ललाइ फकाई गर्ने छोरो मान्छेको नजरमा नपर्लान् ?
रेखा थापा
२० वर्षमुनिका छोरीहरू बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनिहरुलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कतिपटक यौन संपर्क भयो ? यस्ता नैतिकतावदी कुराको कानुनलाई मतलब हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरिसाध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।
ऋचा शर्मा
मुलुकी अपराध संहिताले भन्छ, ‘१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो ।’ कानुनमा कसले,के,कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि,हैन र ?। १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो । यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ! मलाई विश्वास छ,नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण,कानुनको सम्मान हो ।
सञ्चिता लुइँटेल
पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु । जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गरौं । खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषी र निर्दोष छुट्याउने काम कानून र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ ।
लक्ष्मी बर्देवा
हामी यति त बुझ्न सक्छौँ नि–कानुन विपरित क्रियाकलाप गर्दा कानुनी सजाय भोग्नुपर्छ । मलाइ मनपर्ने मान्छे हो,होइन । मेरो नजिक छ-छैनले यसलाई फरक पर्दैन र पर्नु पनि हुँदैन । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैमा मुर्खता हो ।
श्रृङ्खला खतिवडा
एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित हो । यस्ता कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् वा जसले महसुस गर्छन् कि उनीहरुसँग यो मामिलामा कुनै विकल्प नै छैन ।
मलाई अझै पनि विश्वास छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ? हो,उनी जताततै अन्तरवार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् । यो मुद्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु । नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नुहुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्,कमेन्ट गर्नुहोस् । तपाईंहरुले जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ । तपाईंहरुले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ ।
म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ,बहिनी । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो । यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् ।
‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ । यदि नाबालिगले नै यसो गर्न चाहेकी छिन् भने ‘हुन्न’ भन्ने काम वयस्कको हो । किनभने यहाँ पीडित केही निर्णय गर्नका लागि असाध्यै सानी छिन् । जबकी ती शाह उनीभन्दा धेरै नै उमेरका थिए । यसले उमेर,शक्ति र नियन्त्रणमा ‘इल्लिगल डाइनामिक्स’ बन्ने गर्छ ।
आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेका छन् जसले उनीहरुको जीवनभरी नै गहिरो घाउ बनाइदिएको हुन्छ । त्यसैले यस्ता कानुन बनाइएको हो । यसले नाबालिग (केटा–केटी) को फाइदा उठाउन खोज्नेहरूलाई खबरदारी गर्छ । यो मुद्दा धेरैका लागि जागरुकताको माध्यम र धेरैका लागि पाठ बन्नुपर्दछ ।


विश्व खबर 



















