काठमाडौं– युवा गायक विरज महर्जनले नयाँ नेपाली प्रेमगीत ‘साइली’ सार्वजनिक गरेका छन् ।
उनले नेपाल भाषाको ‘छ लिसे’ बोलको गीत पनि एकैसाथ सार्वजनिक गरेका हुन् ।
बाल्यकालदेखि नै संगीतमा सक्रिय विरजले ८ वर्षको उमेरबाट सांगीतिक यात्रा सुरु गरेका थिए ।
१३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गर्दै आफ्नो गायन प्रतिभा देखाएका थिए ।
त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम बजारमा ल्याएका थिए ।
उनले सुरशाला म्युजिक एकेडेमीबाट औपचारिक रूपमा संगीत अध्ययन गरेका हुन् ।
हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका बिरज नेपाल आउँदा नयाँ गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न लाइभ सांगीतिक कार्यक्रममा सक्रिय रहने गरेका छन् ।
यसअघि उनले नेपाल भाषाका ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’, ‘छ लुइवोन हे जीवन’ लगायतका गीतमार्फत दर्शक–श्रोताको मन जितिसकेका छन् ।
नेपाली गीततर्फ ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ पनि लोकप्रिय छन् ।
सांगीतिक योगदानका लागि बिरजले विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका छन् ।
उनले २०७४ सालमा ‘तुयु तुयु धागु’ गीतबाट पेज थ्री अवार्ड अन्तर्गत बेस्ट न्यू आर्टिस्ट अवार्ड जितेका थिए ।
२०७५ सालमा ‘आमा’ गीतका लागि नेसनल पावर न्युज म्युजिक अवार्ड अन्तर्गत बेस्ट सङ अफ द इयर–इन्करेजमेन्ट अवार्ड प्राप्त गरेका थिए ।
सोही ‘तुयु तुयु धागु’ गीतबाट उनले नेसनल बक्स अफिस अवार्डमा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) अवार्ड पनि हात पारेका थिए ।
यस्तै, २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ गीतका लागि दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड अन्तर्गत बेस्ट मेल सिङ्गर–राइजिङ स्टार (जुरी) अवार्डबाट सम्मानित भएका थिए ।
यसपटक सार्वजनिक भएको ‘साइली’मा विरज महर्जनको स्वर रहेको छ भने शब्द, संगीत र संगीत संयोजन जुगल डंगोलले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोको छायांकन रकी महर्जनले गरेका हुन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गीले संयुक्त रूपमा गरेका छन् ।
भिडियोको निर्देशन पनि रामकृष्ण खड्गीले गरेका हुन् ।
निर्माण टिमका अनुसार प्रेम, भावना र सम्बन्धको सुन्दर कथालाई संगीत र दृश्यमार्फत प्रस्तुत गरिएको ‘साइली’ले युवा पुस्तासँगै सबै उमेर समूहका श्रोता तथा दर्शकको मन छुने विश्वास गरिएको छ ।





















