images
images
  • दुई हप्ताअघि नै अभिनेत्री रेखा थापाले बिहे गरेको खुलासा

    काठमाडौं– एक महिनायता नेपाली फिल्मवृत्त अभिनेत्री रेखा थापाले आउँदो वैशाखमा बिहे गर्ने गसिपले गर्माइरहेको छ। रेखा भने सञ्चारकर्मीको जिज्ञासामा ‘मिडियाले नै मेरो बिहे गराइदिने भए’ भन्दै ठट्यौली जवाफ फर्काइरहेकी छिन्। बिहेबारे सोध्ने निकटहरुलाई उनी उल्टै सोधिरहेकी छिन्, ‘केटा खोइ? मेरो बिहेका लागि केटा चाहियो नि। खोज्दिनुस् केटा।’

    तर, आजै ‘भ्यालेन्टाइन्स डे’का दिन प्राप्त सूचनाअनुसार उनै अभिनेत्री रेखा थापाले दुई हप्ताअघि नै ‘कोर्ट म्यारिज’ गरिसकेकी छिन्। जतिबेला उनको बिहेबारे गसिप बनिरहेको थियो, त्यतिबेलै काठमाडौं जिल्ला अदालत पुगेर उनले आफ्ना प्रेमी बलराम शाहीसँग बिहे गरेको खुलेको छ।

    अदालतको विश्वस्त स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी शाहीसँग बिहे गरेकी हुन्। पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही इजरायलमा बसेर पर्यटन व्यवसाय गर्दै आएको बुझिएको छ।

    ‘रेखा थापा त्यसदिन कानुनी बिहे दर्ता गर्न आफ्नो जोडीसँग मास्क लगाएर आउनुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘जोडीलाई बिहेको प्रमाणपत्र दिने बेला नाम रेखा थापा देखेपछि न्यायाधीशले उहाँलाई खोइ हामी नि हेरौँ न भन्दै मास्क नै खोल्न लाउनुभएछ। माहोल रमाइलो भएछ।’

    रेखाको यो दोस्रो बिहे हो। निर्माता छविराज ओझासँगको १० वर्षको सम्बन्धमा पूर्णविराम लागेपछि उनी केही वर्षयता ‘एक्लो’ जीवन बिताइरहेकी थिइन्।

    १९ वर्षअघि छविराजकै फिल्म ‘हिरो’बाट अभिनयमा प्रवेश गरेकी रेखाले पछिल्लो समय निरन्तर झेलिरहने प्रश्न थियो- ‘बिहे कहिले गर्ने?’ परिवारभित्रैबाट पनि उनलाई बिहेको दबाव पनि थियो। उनले भन्ने गर्थिन्, ‘अब बिहे गर्नुपर्छ भन्नेहरु एकदमै धेरै छन्, ममीले पनि अब गर्नुपर्छ भनिरहनुभएको छ। तर मैले बिहे अरुको लागि गर्ने होइन। परिवार र समाजका लागि भन्दा पनि यो मेरो नितान्त व्यक्तिगत जिन्दगी बिताउने कुरा हो।’

    प्रणय दिवसमा रेखालाई पनि शुभकामना, ‘वैवाहिक जीवन सुखमय रहोस्।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images