काठमाडौं- सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेको हो ।
कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ । नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैंले सो कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले
बताए । उनले कल सेन्टरमा गुनासो आउनेवित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए।
मन्त्री श्रेष्ठले करिव एक महिनायता भिजिट भिसामा गएकाहलाई विचौलियाहरुले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुुस गरिएको स्पष्ट पारे।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरुबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि विचौलियाहरुलाई अपिल गर्नु भयो । ६ जना कर्मचारीहरुले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिने जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनिकरण गर्दै लैजाने विश्वास समेत व्यक्त गरे।
कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ ।


विश्व खबर 



















