images
images
  • राष्ट्रिय जनगणना २०७८: विदेशिने महिलाको संख्या १० वर्षमा ७१ प्रतिशतले वृद्धि

    काठमाडौं – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ। १० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो।

    केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो।

    अहिले कुल २१ लाख ६९ हजार ४७८ व्यक्तिहरू विदेशमा बसोबास गर्दै आएको प्रारम्भिक तथ्यांकले देखाएको छ। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष र ४ लाख ६ हजार १०३ महिला विदेशमा बसोबास गर्दै आएका छन्।

    त्यो भनेको ८१.२८ प्रतिशत पुरूष र १८.७२ प्रतिशत महिला विदेशमा छन्। १० वर्ष अघिको तथ्यांकलाई हेर्ने हो भने जम्मा विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ जना थियो।

    जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ जना पुरूष र महिला २ लाख ३७ हजार ४०० जना थिए।

    त्यतिबेला विदेशिने पुरूषको संख्या ८७.६४ प्रतिशत थियो भने महिलाहरूको जम्मा १२।३६ प्रतिशत मात्रै थियो। त्यसअनुसार अहिले महिलाहरू विदेशिने दर बढेको छ।

    यस्तै भौगोलिक क्षेत्रअनुसार तराईका १० लाख ६५ हजार ९६९, पहाडका ९ लाख ८४ हजार ८९६ हजार र हिमालका १ लाख १८ हजार ६१३ व्यक्तिहरू विदेशमा रहेको देखिन्छ।

    बुधबार सार्व‍जनिक गरेको तथ्यांकका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो।

    नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

    नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images