काठमाडौं– नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओेमिक्रोन भाइरसको संक्रमण नेपालमा दुईजनामा पुष्टि भएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।
अफ्रिकाबाट केहीदिन अघि फैलिएको यो भेरियन्ट कोरोनाको भाइरासभन्दा तीव्र रूपमा फेलिने बताइएको छ। नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो ।
मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ,‘३ मंसिर ०७८ मा नेपाल आएका ६६ बर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । उहाँसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ बर्वीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नु पर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन । एस जेन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसिर ०७८ मा राति कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।ती व्यक्ति गत मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जानकारी दिएको छ । ती व्यक्ति र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो । उनीहरूबाट संकलन गरिएको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा आइतबार ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१.५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ । भारतमा पनि २१ जनामा यो भेरिएन्ट पुष्टि भइसकेको छ ।
३० पटकभन्दा बढी उत्परिवर्तित भएको भनिएको ओमिक्रोन भेरिएन्ट कति संक्रामक छ र खोप कति प्रभावकारी छ भन्नेबारे भने प्रस्ट भइसकेको छैन । ओमिक्रोन भेरिएन्टले कोरोनाको अर्को लहर निम्तिन सक्ने भन्दै विश्वका अधिकांश देशले अफ्रिकी देशहरूबाट हुने यात्रामा रोक लगाएका छन् । हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा ?
डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ।
दक्षिण अफ्रिकामा बुधबार मात्र यसको पहिलो केस पत्ता लागेको थियो। त्यसको नमुना गत कात्तिक २३ गते संकलन गरिएको थियो। डब्लूएचओले यसलाई ‘ओमिक्रोन’ नाम दिएको छ। एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने हुँदा सम्भावित प्रभावबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । चार दिनको अवधिमा अफ्रिकासहित हङकङ, बेल्जियम, वोत्सवाना र इजरायलमा समेत संक्रमण पुष्टि भइसकेको छ।
बेलायतले ६ मुलुकसँगको हवाई उडान बन्द गरेको छ। अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले कोभिड–१९ संक्रमण बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक भएकाले संकटकाल लगाइएको जनाएका छन्।
अस्ट्रेलियाले बाहिरी मुलुकबाट आउने उडानमा कडाइ गरेको छ । भारतलगायतका मुलुकले उच्च सतर्कता अपनाएका छन् । कतिपयले दक्षिण अफ्रिकासँगको हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । भारतले बाहिरी मुलुकबाट आउने यात्रुको स्क्रिनिङ र परीक्षणमा विशेष ध्यान दिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अफ्रिकाबाट नेपालमा सीधा हवाईसम्पर्क नभएकाले प्रत्यक्ष जोखिम नभएको बताए । ‘विभिन्न मुलुकका ट्रान्जिट प्वाइन्ट हुँदै नेपाल प्रवेश गर्नेबाट संक्रमण सर्ने जोखिम छ। विमानस्थलमा हेल्थ डेस्क तयारी अवस्थामा छ,’ डा. पौडेलले भने, ‘संक्रमणको जोखिमपूर्ण मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ।’ स्वदेशमै ल्याब स्थापना भएका कारण नमुना परीक्षणका लागि विदेश लैजानु नपर्ने पौडेलले बताए। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आइतबार बस्ने बैठकले ओमिक्रोम भेरियन्टका लागि अपनाउनुपर्ने सावधानीबारे आवश्यक निर्णय गर्ने जनाइएको छ ।

नेपालमा Omicron पुष्टि सम्बन्धी प्रेस बिज्ञप्ति
मिति २०७८ मङ्सिर २० गते
कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (mutation) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन (Omicron) नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना Omicron भेरिएन्ट संक्रमित देखिएका छन् ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ I यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ ।
नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ PCR रिपोर्ट अनिवार्य गरेको , खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ । एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी PCR गर्ने र संकास्पद नमुनाहरुको gene sequencing गर्ने गरिएको छ। यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ I
यहि क्रममा मिति २०७८ मङ्सिर ३ गते नया भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार PCR रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंशिर ७ गते कोभिड-१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिए पश्चात परिक्षण गर्दा कोभिड-१९ को नतिजा पोजिटिभ आएको थियो । COVID-१९ परीक्षणमा पोजिटिभ आएकाहरुको S-gene परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन (S-gene Target failure) । S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ( NPHL) मा gene sequencing गर्दा मिति २०७८ मङ्सिर १९ गते राति COVID-१९ को नयाँ भेरिएन्ट Omicron नेपालमा पहिलो पटक पुष्टि भएको छ ।
हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ । हाल उहाहरुमा कुनै लक्षणहरु देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।
उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको PCR परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ ।
यससंगै नेपालमा Omicron को निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको छ । आम नागरिकलाई Omicron सम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न बिश्वमा भएका यस सम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सहि सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरिएन्ट जस्तै Omicron को संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध छ ।
धन्यवाद


विश्व खबर 



















