सम्झना कार्की/ सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।
मृत्यु हुने ६ वर्षीय मनोज तामाङ सञ्च तामाङ छोरा हुन् । पाँच वर्षीय मनिष तामाङ सुकमानका र पाँच वर्षीय दिलबहादुर तामाङ साइला तामाङका छोरा रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतले भने- ‘घरमा कोही नभएको बेला पराल तथा मकैको खोस्टा राखिएको गोठमा आगलागी भएको र त्यहाँ रहेका तीन बालकको मृत्यु भएको हो । बस्तुभाउलाई कुँडो पकाउनका लागि बालिएको आगोबाट घटना भएको देखिन्छ ।’
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो बेलुका साढे ८ बजेतिर नियन्त्रणमा लिए पनि बालकहरुलाई बचाउन नसकिएको उनले बताए । मृतकको शव अहिले पनि घटनास्थलमै रहेको डिएसपी बस्नेतले बताए ।
यसरी आफैंले सल्काएको आगोमा परेर तीन बालकको मृत्यु भयो
सोमबार हरिसिद्धि प्रा.वि.मा पढेर फर्किँदै गरेका तीन बालक खेल्न भन्दै गोठमा पसे । गोठमा भदौका ढोड सुकाएर हिउँदमा गाईबस्तुलाई खुवाउन भनेर राखिएको थियो ।
खेल्ने क्रममा उनीहरुले त्यही ढोडमा आगो सल्काए । सुकेको ढोडमा आगो छिरभरमै फैलियो । आगोको लप्का र धुँवाले बाहिर निस्किने ढोका ढाक्यो । ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङ बाहिर निष्किन सकेनन् । “उनीहरु त्यो कोठाको अर्को कुनामा गएर एकैठाउँ बसेछन् । तर, आगो फैलिँदै जाँदा उनीहरु सायद निसास्एिर बेहोस भए । कटेरोमा पूरै आगो लाग्दा उनीहरु पनि जले,” हेलम्बु गाउँपालिका–७ सुर्सिङका वडा सदस्य जित बहादुर तामाङले बाह्रखरीसँग भने, “उनीहरु तीन जना नै एकै ठाउँमा आधाभन्दा धेरै शरीर जलेको अवस्थामा मृत फेला परेका छन् ।” कटेरोसँगै रहेको अर्को घर पनि जलेको उनले बताए ।
झाक्रिटोलमा ०७२ को भूकम्पपछि पहिलेको जस्तो बाक्लो बस्ती छैन । बस्तीमा भएकाहरु पनि मंसिरको चटारोमा छन् । “मंसिरको महिना भएकाले घरका ठूला मान्छे अहिले दिउँसो घरमा हुँदैनन्, सबै मेलापातमा हुन्छन्,” वडा सदस्य तामाङले सुनाए, “हिजो पनि त्यस्तै भयो । ठूला मान्छे सबै मेलामा गएका बेला घटना घट्यो जसका कारण उनीहरुलाई बचाउने त्यहाँ कोही भएन ।”


विश्व खबर 



















