सुर्खेत- प्रधानसेनापति प्रभुराम शर्मा आइतबारदेखि कर्णाली प्रदेशको भ्रमणमा छन् । उनले हिजो (आइतबार )कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग शिष्टचार भेटघाट गगरेका थिए । उक्त अवसरमा प्रधानसेनापति शर्माले कर्णालीको विकास निर्माणका गतिविधि र विपत् व्यवस्थापनका क्रियाकलापहरूमा नेपाली सेनाबाट भए गरेका गतिविधिबारे मुख्यमन्त्री शाहीसमक्ष ब्रिफिङ गरेका थिए ।
त्यस्तै उनले आगामी दिनमा प्रदेश सरकारसँग नियमित तथा निकट समन्वयमा रही काम गर्न ईच्छुक रहेको र कर्णाली करिडोर अन्तर्गत सल्लिसल्ला खण्डको ७ किलोमिटर चट्टान खण्डको समयमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रधानसेनापति शर्माले हिजै सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयको निरीक्षण भ्रमण गरेको थियो । आज पनि उनको मुकाम सुर्खेत नै रहेको छ । हिजो कमाण्ड मुख्यालय निरीक्षणको क्रममा उनले फौज तैनाथीको अवस्था,जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना,प्रदेशहरुसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थालगायतका विषयमा जानकारी लिएको थियो ।
यसका साथै मुख्यमन्त्री शाहीको अनुरोधमा हुम्लामा तत्कालका लागि खाद्यान्न ढुवानी गर्न समेत राजी भएका बताइएको छ । प्रधानसेनापति शर्माले हिजै कर्णालीका प्रदेशप्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेको छ । भोलिसम्म त्यतै रहने शर्माले आज कालिकोटस्थित समशेर गुल्म,हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
भोलि जुम्लास्थित नम्बर २४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको निरीक्षण भ्रमण गरेपछि सोझै काठमाडौं फिर्ता हुने र १२-१३ गते पोखरा जाने कार्यक्रम योजना रहेको छ ।


विश्व खबर 




















