काठमाडौं- काठमाडौंको चाबहिलस्थित ॐ हेल्थ क्याम्पस बिक्रीमा राखिएको छ । क्याम्पसको सञ्चालन खर्च थेग्न नसकेपछि सञ्चालकहरु क्याम्पस बिक्री गर्न कस्सिएका हुन् । नेपालका पुराना नर्सिङ क्याम्पसमध्येको ओम हेल्थ क्याम्पस २०५५ सालमा ९ करोड लगानीमा सुरु गरिएको थियो ।
चाबहिलकै ॐ अस्पताल एन्ड रिसर्च सेन्टरको स्वामित्वमा रहेको ॐ हेल्थ क्याम्पसमा पछिल्लो समय विद्यार्थीको अभाव हुँदै जान थालेपछि व्यवस्थापन पक्ष कलेज नै बिक्री गर्ने निष्कर्षमा पुगेको हो ।
गोपीकृष्ण चोकको छवैमा १०१ आना क्षेत्रफलमा फैलिएको सात तले यस क्याम्पस एक समय निकै चर्चामा थियो । यस क्याम्पसमा पूर्वाञ्चल विश्वविद्यालयको स्वीकृति लिएर बिएस्सी नर्सिङ र बीएन नर्सिङ अध्यापन हुँदै आइरहेको छ । यस्तै, सिटीईभिटी अन्तर्गतको पिसिएल नर्सिङ पढाइ पनि हुन्छ । पूर्वाञ्चल विश्वविद्यालयकै बिपिएच कार्यक्रम पनि यस क्याम्पसमा चलिरहेको छ ।
पछिल्लो समय धमाधम मेडिकल कलेजहरु किनबेच भइरहेको चर्चा चलिरहेको बेलामा ॐ हेल्थ क्याम्पस पनि बिक्रीका लागि राखिएको हो । पोखराको मणिपाल हस्पिटलदेखि बाँकेको मेडिकल कलेजसम्म अहिले किनबेच भइरहेका चर्चा छन् ।
अरु अस्पताल तथा मेडिकल कलेजहरु बिक्री गर्नुका फरक कथाहरु होलान्, तर ओम हेल्थ क्याम्पस बिक्री गर्नुको पछाडि आर्थिक संकट रहेको अस्पतालका अध्यक्ष डा. हरिकिशोर श्रेष्ठले बताए । यो कलेजमा प्रत्येक बर्ष १६० भन्दा बढी विद्यार्थी अध्ययन गर्दै आइरहेका थिए भने १ सय हाराहारी कर्मचारी कार्यरत थिए । तर, पछिल्ला बर्षमा विद्यार्थी भर्ना गर्नै नसकेको कलेज व्यवस्थापनको दाबी छ । पैसा खर्च गरेर पढाउने विद्यार्थी नपाइएको खाली छात्रवृत्तिका विद्यार्थीमात्रै बढाउनुपर्ने अवस्था सिर्जना भएपछि कलेज आर्थिक संकटमा पुगेको हो । कलेजले मासिक २० लाख रुपैयाँभन्दा बढी तलबमा मात्र खर्च गर्नुपर्ने हुन्छ । अरु खर्च पनि राम्रै निस्कने गर्छ ।
यस हस्पिटलका भवनहरु, ब्रान्ड, विद्यार्थी, शैक्षिक कार्यक्रम सबै एकमुष्ठ बिक्री गर्नुपर्दा एक अर्बभन्दा बढी मूल्यांकन हुने बताइएको छ । कलेज आर्थिक संकटमा फसेपछि शैक्षिक कार्यक्रम सहित नै कलेज बिक्री गर्न व्यवस्थापन तयार छ । तर, कसैले भवन र जग्गामात्र खरिद गरेर अरु नै प्रयोगमा ल्याउन पनि सक्नेछ ।


विश्व खबर 




















