अस्ट्रेलियामा नेपाली समाज बाक्लिँदै गर्दा यहाँको राजनीतिमा पहुँच र प्रभाव पनि बढ्न थालेको छ । केन्द्रिय राजनीतिमा खासै पहुँच बनाउन नसके पनि नेपालीहरू बिस्तारै स्थानीय निर्वाचनमार्फत पहुँच अगाडि बढाउँदै छन् ।
आउँदो डिसेम्बरको पहिलो साता हुने स्थानीय निर्वाचनमा सिड्नीमा मात्र करिब एक दर्जन नेपाली उम्मेदवार भएका छन् । उच्च शिक्षाको आकर्षक केन्द्र अस्ट्रेलियाको शैक्षिक क्षेत्र र रोजगारीसँगै राजनीतिमासमेत बढ्दै गएको नेपालीको सहभागिताले आम नेपाली समाजको पहिचान बढेको छ ।
सन् २०१९ को केन्द्रिय निर्वाचनमा तात्कालीन सत्तासीन लिवरल पार्टीले नेपाली युवा अभियन्ता प्रमेज श्रेष्ठलाई बार्टन क्षेत्रबाट संघीय संसदकै उम्मेदवार बनाएको थियो ।
यसैगरी तेस्रो ठूलो दल ग्रिन्सले पश्चिम अस्ट्रेलियाबाट नेपाली मूलका युवा भुवन खड्कालाई माथिल्लो सदन सिनेट सदस्यका लागि सिफारिस गरेको थियो .
यी उम्मेद्वारले अस्ट्रेलियाली राजनीतिमा नेपाली युवालाई केन्द्रीय राजनीतिमा प्रवेशको ढोका खोलिदिएको छ। यसलाई प्रवासी नेपालीका लागि सबैभन्दा महत्वपूर्ण राजनीतिक उपस्थितिका रूपमा लिन सकिन्छ । सत्तासीन राजनीतिक पार्टीले दिएको केन्द्रिय सांसदको टिकटमा प्रमेशले जित हात पार्न नसके पनि दोस्रो पुस्ताको लागि यो एउटा गतिलो शन्देश दिएको छ ।
सन् २००० मा करिब तीन हजार नेपाली भएको अस्ट्रेलियामा अहिले करिब डेढ लाख भन्दा बढी बसोबास गर्दै आएका छन्। त्यसमध्ये करिब ५० हजार अस्ट्रेलियन नागरिक भइसकेका छन् । यसरी नेपालीको संख्या बढेसँगै अस्ट्रेलियाका प्रमुख दुई राजनीतिक दल लेवर पार्टी र लिवरल पार्टीले नेपाली समुदायमा आफ्नो सक्रियता बढाएका छन्। उनीहरूले नेपालीमाझ आफू समर्थक संगठनसमेत बनाएका छन्। जसमा फ्रेन्ड्स अफ लेबर र लिबरल नामका दुइ भगिनी संस्था पनि सक्रिय देखिन्छन् ।
हालसम्म स्थानीय चुनावमा उम्मेदवारका रूपमा अगाडि आएका नेपाली मुलका अस्ट्रेलियनमा ब्ल्याकटाउन काउन्सिलका महेश पन्त, नर्थ सिड्नीकी अन्जना बस्नेत, क्याम्पबेलटाउनका विनोद पौडेल, उनकी पत्नी जिप्सोना पौडेल, लिभरपुलबाट दिपेश चिलवाल, हिल साइडवाट अनन्त कार्की (एलेक्स) बैंक्सटाउन काउन्सिलबाट भद्र वाइवा र क्याम्पबेलटाउनवाट अस्मिता खरेल तथा सज्जन कार्की छन् ।
यिनीहरू विभिन्न क्षेत्रबाट र फरकफरक पार्टीकोमार्फत चुनावी मैदानमा भिड्दैछन् । अष्ट्रेलियाको स्थानीय राजनीतिमा झुकाव राख्ने यो निर्वाचनमा एक दुई जनाले मात्र जिते पनि अष्ट्रेलियाली मुलधारको राजनीतिमा नेपालीको बलियो उपस्थितिको ढोका खुल्नेछ ।
अहिले उम्मेदवारी घोषणा गरेका आठ उम्मेदवारमध्ये लेवर पार्टीको तर्फबाट क्यान्टरबरी बैंकस्टाउन काउन्सीलकी उम्मेदवार भद्रा वाईवा र हिल साइडका एलेक्स कार्की बलिया देखिएका छन्। दुबैले लेबर पार्टीको तर्फबाट तीन जना रहने काउन्सिलरमा दोस्रो दर्जा पाएका छन् ।
दोलखाको मैलुङ मुल घर भएका एलेक्स (अनन्त) कार्की सन् २००७ देखि लेबर पार्टीका सक्रिय सदस्य हुन्। पेशाले ईन्जिनियर कार्की पहिलो प्रयासमै सफल बनाउने अभियानमा आफू लागेको बताए । यस्तै ब्ल्याकटाउनबाट उमेदवारी दिएका महेश पन्त संयुक्त टिमको उम्मेदवार रहे पनि उनी सत्तासिन लिबर पार्टीवाट सिफारीस भएका हुन्। २३ वर्ष अगाडि अस्ट्रेलिया आएका पन्त पाँच वर्षदेखि लिबरल पार्टीका सक्रिय सदस्यका रूपमा कार्यरत छन् ।
अस्ट्रेलियाको सिड्नीस्थित लिभरपुल सिटीको काउन्सिलर पदमा नेपाली युवा दिपेश चिलुवालले स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा भिड्दैछन् । डिसेम्वर ४ मा हुने निर्वाचनका लागि मनोनित भएसँगै सबै उमेदवार आ-आफ्नो अभियानमा जुटेका छन्। क्याम्पबेलटाउन काउन्सिलमा काउन्सिलर पदमा लेवर पार्टीको तर्फबाट अस्मिता खरेल पौडेल निर्वाचनमा उम्मेवारी दिने निश्चित भएको छ ।
नर्थ सिड्नी काउन्सलरमा अन्जना बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। अन्जना पार्टीबाट सिफारीस भए पनि टिम एली भनेर संयुक्त प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् । न्यु साउथवेल्स राज्य, क्याम्पेलटाउन काउन्सिलको नगर सदस्यमा नेपाली दम्पती बिनोद पौडेल र जिप्सोना पौडेलले उम्मेदवारी दिएका छन् ।
सत्तारूढ लिवरल पार्टीको तर्फबाट सिफारिस पाएका यी दम्पतीको निर्वाचन क्षेत्रमा भने सबै नगरपरिषदको निर्वाचन एकै पटक हुनेछ । पार्टीबाट सिफारिस भएका पाँच जना उमेद्वावारमध्ये क्याम्पबेलटाउनवाट सत्तासिन लिबरलवाट पौडेलको सम्भावना बलियो छ । सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया आएका विनोद र जिम्पसोना सन् २०१२ देखि नै लिवरल पार्टीको सदस्य हुन् ।


विश्व खबर 



















