नेपालगन्ज-नेपालगन्जकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई सोमबार पक्राउ गरिएको बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।
आरोपीत कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । अभियुक्तमध्ये पूर्वसांसद बादशाह कुर्मीले भदौमा आफैं जिल्ला प्रहरी कार्यालयमा आएर बयान दिएकाले हाजिरी जमानतमा छाडिएको थियो । ‘अदालतले सात दिनको म्याद थप गरेकाले पक्राउ गरिएका ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्छौं, ’ डीएसपी न्यौपानेले भने ,‘सादा तारेखमा छुटेका दुई जनामाथि पनि मुद्दा परेकाले उनीहरुमाथि पनि अनुसन्धान गर्छौं । ’
बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसान्धान गरिरहेको जनाएको छ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबी घटनामा छानबिन समितिले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।
गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मी नेतृत्वले गृहमन्त्री बालकृष्ण खाणसमक्ष प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको उल्लेख छ । नेपालगन्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।
२०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौं पर्ने जग्गा हिनामिना भएको थियो । २०७७ मा महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी,रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
मुद्दा दर्ता भएको एक वर्षसम्म प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थिएन । असार १३ मा कार्यवाहक सम्हालेलगत्तै एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुधन न्यौपानेले निर्मलाको उजुरीमा प्रारम्भिक अध्ययन सुरु गरेको हो । दोषीलाई पक्राउ गर्न बलियो प्रमाण चाहिने हुँदा यसैको अध्ययनका लागि तीन धेरै समय लागेको डीएसपी न्यौपानेले बताए ।
भदौ ३ मा अदालतबाट ८ जना अभियुक्तलाई पक्राउ गर्न आदेश दिइएको थियो । गत भदौ १० मा पूर्वसांसद कुर्मीमात्रै प्रहरीसमक्ष उपस्थित भएर बयान दिएका थिए ।
यसरी सुरु भएको थियो अत्याचार
निर्मलाको ४ जनाको परिवार थियो । ०६२ साल तिरै उनका श्रीमान् महालु कुर्मी बिते । २ छोराहरू राम सागर र सुरेश भविष्यको सहारा बन्लान् भन्ने आशामा निर्मलाको जीवन चलेकै थियो । तर, उनीमाथि यसरी दैव लागे, कि ०६६ को कात्तिक अन्तिम साता १५ दिनकै अन्तरमा उनले दुवै छोरा गुमाइन् ।
‘१८ र १६ वर्षका लक्का जवान । न कुनै रोग, न कुनै बिराम । एक्कासि कसरी मरे ? उनीहरूको मृत्यु निकै रहस्यमय भयो,’ माइतीघरमा धर्ना बस्न आइपुगेका मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान भन्छन्, ‘त्यसबेला शवको पोस्टमार्टम गराउन संविधानसभा सदस्य कुर्मीले नै रोकेका थिए । त्यहीँबाट उनको नियतमा खोट रहेको देखिन्छ ।’
लोग्ने र छोराहरूसमेत बितेपछि निर्मला एक्ली भइन् । एउटी विधवा महिलालाई समाजले गर्ने दुर्व्यवहार र विभेद छोराहरूको मृत्युपछि झनै चर्किएको थियो । छिमेकीसमेत रहेका संविधानसभा सदस्य कुर्मीले गर्ने व्यवहार पनि बद्लियो । तत्काल संविधानसभाको सदस्य रहेका कुर्मी घर पुगेपिच्छे निर्मलामाथि ज्यादती गर्न थाले ।

त्यही क्रममा उनले निर्मलाबाट उनका लोग्ने र छोराको नाममा रहेको ५ बिगा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धी कागजपत्र कब्जामा लिए । श्रीमान् र छोरा बितेपछि आफ्नो बाँच्ने आधारको रूपमा रहेको सम्पत्तिसमेत कुर्मीले खोसिदिएपछि निर्मलाले न्यायका लागि प्रशासन र संघसंस्था धाउन थालिन् । उनले गाउँका ठालूदेखि जिल्ला प्रशासन कार्यालयसम्म पुगेर आफ्ना कागजपत्र फिर्ता गराइदिन हारगुहार गरिन् ।
निर्मलाले १८ माघ, ०६६ मा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा पनि निवेदन दिएकी थिइन् । निर्मलाले आफूविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेको थाहा पाएपछि संविधानसभा सदस्य कुर्मी गाउँ पुगे ।
२० माघमा गृह नगर पुगेका कुर्मीले निर्मलामाथि सार्वजनिक स्थानमै दुर्व्यवहार गरे । जिल्ला प्रशासन कार्यालयबाट फर्किँदै गरेकी निर्मलालाई कुर्मीले बाटोबाटै नियन्त्रणमा लिए । उनीसँग ४-५ जनाको समूह नै त्यो कार्यमा संलग्न थियो । उनले निर्मलामाथि कुटपिट मात्रै गरेनन्, अपहरण शैलीमा घिसारेर आफ्नै घर पुर्याए । अर्को दिन प्रहरीले कुर्मीको घरबाट निर्मलाको उद्धार त गर्यो । तर, सभासद्लाई छुने आँट गरेन ।
सभासद्ले नै एउटी एकल महिलामाथि सार्वजनिक दुर्व्यवहार गरेपछि जिल्लामा खैलाबैला मच्चियो । महिला अधिकारकर्मी, मानवअधिकारकर्मी र संघसंस्थाहरुले पनि विरोध जनाए । त्यसैको आडमा २१ माघमा प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयमै सरोकारवालासँग छलफल बोलाए । तर, त्यो दिन सभासद् कुर्मी छलफलमै आएनन् । २२ माघमा कुर्मीविरुद्ध अधिकारकर्मीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेका थिए ।
आफूविरुद्ध चौतर्फी विरोध भएपछि कुर्मीले निर्मलाका कागजात फिर्ता गरिदिए । तर, उनीमाथि न कुनै अनुसन्धान भयो, न कारबाही । केवल सार्वजनिक माफी मागेर मुद्दाको छिनोफानो भयो । ‘त्यसबेलै प्रहरीले निर्मलालाई न्याय दिनुपर्ने हो । तर, प्रहरीले सभासद्लाई छुने आँट गरेन । त्यही कारण निर्मलामाथि थप अन्याय बढ्यो । उनले ज्यानै गुमाउनुपर्ने अवस्था बन्यो,’ केन्द्रका अध्यक्ष शेर बागवान भन्छन्, ‘हुँदाहुँदा एउटी निरीह महिलाको अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरिसक्दा पनि प्रहरी दोषीमाथि अनुसन्धान गर्न तयार छैन । उजुरी लिँदैन । अनि हामी कसरी चुप बस्ने ?’
निर्मलासँग सार्वजनिक माफी माग्नुपरेपछि कुर्मी झन् आक्रोशित भएर प्रस्तुत हुन थाले । सामाजिक रूपमा माफी मागेर मुद्दा टुंग्याइए पनि कुर्मीले निर्मलामाथि ज्यादती गर्न भने छाेडेनन् । कुर्मीले त्यसपछि निर्मलामाथि निरन्तर डर, धाक, धम्की देखाएको अधिकारकर्मीको आरोप छ ।
‘कुर्मीबाट असुरक्षित भएपछि हामीले निर्मलालाई साथी नामक संस्थाको संरक्षणमा समेत राख्यौँ । त्यही बीचमा उनले आफ्नो श्रीमान् र छोराको नाममा रहेको सम्पत्ति पनि आफ्नो नाममा पास गरिसकेकी थिइन्,’ अध्यक्ष शेर बागवानले भने । निर्मलाको सम्पत्तिमा आँखा गाडेका सभासद् कुर्मीले जबरजस्ती उनको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गरेको बागवान बताउँछन् । उनकाअनुसार अहिले निर्मलाको सम्पत्ति २/३ जनासम्म हक हस्तान्तरण भइसकेको छ ।
त्यसपछि निर्मला संघसंस्था र अधिकारकर्मीसँग पनि सम्पर्कमा रहिनन् । उनको अवस्था अज्ञात जस्तै रह्यो । त्यो अवधिमा पनि कुर्मीले निर्मलालाई बन्धक बनाएर राखेको अधिकारकर्मीको दाबी छ ।
मञ्चले दिएको जाहेरीमा ०७५ माघ २५ गते राति कुर्मी र उनका केटाहरूले निर्मलाको अपहरण गरेको उल्लेख छ । उनको अपहरणमा कृष्णमुरारी सिंह, उर्मिला कनौजिया, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी, रमेश थापा, कुवर बब्बर सिंह, धिरेन्द्र सिंह र पार्वती विष्टको मिलेमतो रहेको उनीहरूको आरोप छ । उनी अपहरणमा परेको दुई वर्षपछि उनको मृत्यु भएको खबर फैलाइएको थियो । तर, अधिकारकर्मीहरूले भने सभासद् कुर्मीकै गिरोहले निर्मलाको अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको दाबी गरेका थिए ।
त्यसयता अधिकारकर्मीहरू निरन्तर आन्दोलित छन् । ‘हामीले निर्मलाको न्यायका लागि लामो संघर्ष गरेका छौँ । तर, प्रहरीले पावर र सत्ताको पछि लागेर हाम्रो जाहेरीलाई वास्तै गरेन,’ मञ्चकी सदस्य तेली भन्छिन्, ‘सभासद् कुर्मीकै कारण निर्मलाको सिङ्गो परिवार विनाश भयो । वंश नाश भयो । हामी त निर्मलाका छोराहरूको समेत रहस्यमय मृत्यु भएकाले त्योसमेत उनीसँगै जोडिएको आशंका गरिरहेका छौँ ।’
उनले आफूहरूले उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेपछि न्यायका लागि जिल्लादेखि, प्रदेश हुँदै केन्द्रसम्म धाउनुपरेको बताइन् । ‘महिलालाई जे गरे पनि हुन्छ, जसो गरे पनि हुन्छ भन्ने मानसिकताबाट निर्मलामाथि निरन्तर अत्याचार भएको छ, उनको सम्पत्तिकै लागि उनीमाथि अत्याचार भएको छ,’ उनले भनिन् ।
कसरी बेपत्ता भइन् निर्मला कुर्मी ? यस्तो छ १२ वर्षदेखिको अन्यायको यथार्थ

बाँकेका महिला अधिकारकर्मी र आफन्तले ५१ दिनदेखि संघर्ष गरिरहेका छन्, नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि । नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी अहिले जीवितै छिन् वा मृत्यु भइसक्यो कुनै ठेगान छैन । उनको भारतमा मृत्यु भइसकेको खबर गाउँमा फैलिएको छ । तर, शव कसैले देखेको छैन । प्रहरी पनि उनको मृत्यु भइसकेको दाबी गर्छ । अधिरकारकर्मीहरु भने उनको मृत्यु होइन, अपहरण र शरीर बन्धक गरी हत्या गरिएको दाबी गरिरहेका छन् ।
महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा अधिकारकर्मीले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा ८ जनालाई किटानीसहित १२ जनाविरुद्ध १६ मंसिर, ०७७ मै जाहेरी दर्ता गराएका थिए । तर, ९ महिना बित्दा पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेन, न त कुनै अनुसन्धान र प्रमाण संकलनको प्रयास नै गरेको छ ।
‘पहिले प्रहरीले जाहेरी दर्ता गर्न नै मानेन, हामीले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएका थियौँ,’ मञ्चकी सदस्य सकिना तेलीले भनिन्, ‘अहिलेसम्म न उनीहरू पक्राउ परेका छन्, न कुनै अनुसन्धान भएको छ । उल्टै निर्मलालाई न्याय देऊ भन्ने हामीहरू असुरक्षित बनेका छौँ ।’ उनीहरूले निर्मलाको विषयमा गहन अनुसन्धान गरी दोषीहरूलाई कारबाही र सो प्रकरणमा अपराधीको सहयोगी बनेको प्रहरी नेतृत्वलाईसमेत कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलित छन् ।
अधिकारकर्मीको दाबी छ- निर्मला कुर्मीको यो अवस्था हुनुमा संविधानसभा सदस्य एवं कांग्रेसका नेता बादशाह कुर्मी दोषी छन् । उनकै इशारामा निर्मलामाथि अन्यायको श्रृंखला चलेको र अन्तिममा उनलाई अपहरण, शरीर बन्धक बनाई हत्या गरेको मञ्चका तर्फबाट केन्द्रीय सदस्य मनकुमारी गुरतालले दिएको जाहेरीमा उल्लेख छ ।
अधिकारकर्मीले संविधानसभा सदस्य बादशाह कुर्मीसहित स्थानीय कृष्णमुरारी सिंह, कुवर बब्बनसिंह, उर्मिला कनोजिया, अम्मरलाल कुर्मी, धिरेन्द्र सिंह, रमेश थापा र पार्वती विष्ट गरी ८ जना र अन्य नाम नखुलेका ४ व्यक्तिहरू विरुद्ध जाहेरी दिएका थिए । तर, प्रहरीले सो मुद्दामा आरोपितहरूलाई पक्राउ गर्न मानेको छैन ।


विश्व खबर 



















