कार्तिक-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा सोमबार दिने भएका छन्।नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिन लागेको कर्णाली प्रदेशका एक मन्त्रीले जानकारी दिए।
कांग्रेस-माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो। उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिन लागेका हुन्।
मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए। राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याविनेट बैठक बोलाएका छन्।शाहीले सोमबारको क्याबिनेट लगत्तै राजीनामा घोषणा गर्न लागेको ती मन्त्रीले बताएका छन्।
‘मुख्यमन्त्रीले आजै राजीनामा दिँदै हुनुहुन्छ,’ ती मन्त्रीले भने, ‘आज क्याबिनेट पनि छ, त्यसलगत्तै उहाँको राजीनामा आउँछ। अन्तिम अवस्थामा परिस्थितिमा नफेरिए बेलुकासम्म उहाँले राजीनामा घोषणा गर्नुहुन्छ।’


विश्व खबर 



















