images
images
  • जाडोसँगै बढ्दो मौसमी फ्लुको जोखिम, यसबाट बच्न चिकित्सकको यस्तो सुझाव

    काठमाडौं-जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ ।

    “यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भने, “हिउँदयाम लागेसँगै मौसमीखालका बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामीमा रुघाखोकी, ज्वरोसँगै डेङ्गुका बिरामीसमेत आएका छन् ।”

    उनले वर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फूल पार्ने भएका कारण अहिले डेङ्गुको जोखिम रहेको बताए। अस्पतालमा एक सातामा एक सयको हाराहारीमा बिरामी आउने गरेको बताउँदै डा। पुनले भने, “अस्पतालमा जाँच गराउन आउने बिरामीको सङ्ख्या अझ धेरै छ । यस्ता बिरामी समुदायमा अझ धेरै छन् । यो चाँडै सर्ने भएकाले यसबाट धेरै व्यक्ति प्रभावित हुने गरेका छन् । घरमा एक जना बिरामी फ्लुको सिकार भएमा सम्पूर्ण परिवारलाई नै सर्न सक्छ, त्यसैले बढी सतर्कता हुनु जरुरी छ ।”

    गत महिना विद्यार्थीमा धेरै फ्लुका बिरामी बढेको र यो सङ्ख्या अझ बढ्ने अनुमान डा. पुनको छ । इन्फ्लुएन्जाको सङ्क्रमणले हुने जटिलताकै कारण विगतमा बिरामीको मृत्युसमेत भएको उहाँले बताउनुभयो । दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर पु¥याउने भएकाले यसले निमोनिया, बाल दम, ब्रोङकाइटिस, घ्यारघ्यार रोगका रूपमा विकास हुने जानकारी उनले र्दिए ।

    यो समूहका बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा अन्य उमेर समूहका बिरामीलाई जस्तो घरैमा राख्न नहुने डा। पुनको सुझाव छ । “अङ्ग प्रत्यारोपण गरेका, दीर्घरोगी, दमका रोगी र बालबालिकालाई घरैमा राखेर उपचार गर्नुहुँदैन,” उनले भने, “वयस्क तथा प्रतिरक्षा क्षमता बलियो भएका व्यक्ति भने केही दिन घरैमा बसेर झोल खाने कुराखाने, लक्षणअनुसारको उपचार गर्ने गरेमा निको हुन सक्छ, नभएमा अन्य बिरामीले पनि चिकित्सकको सुझावमा मात्र उपचार गर्नुपर्छ ।”

    यता, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा केही दिनयता नन–कोभिडका बिरामी बढेका छन् । अस्पतालका चिकित्सक डा। निरज बमका अनुसार दैनिक औसतमा सय जना मौसमीखालका बिरामी उपचारका लागि आएको जानकारी दिनुभयो । यसरी बिरामी उपचारका लागि आउँदा शैया अभाव भएकाले एउटै शैयामा तीन जनासम्म राखेर उपचार गर्नुपरेको उनको भनाइ छ । अहिले शøया अभाव रहेकाले औषधि सेवन गरेर घरमै बस्ने प्रकृतिका बिरामीलाई औषधि दिएर घर पठाइएको उनले बताए।

    उनले मौसमी ‘फ्लु’को सङ्क्रमण भएका व्यक्ति छुट्टै कोठामा बस्ने, हाँच्छ्यिूँ गर्दा, खोक्दा रुमालले मुख छोप्ने, अरू व्यक्तिमा सर्ने भएकाले समूहमा नजाने, सङ्क्रमितले प्रयोग गरेको रुमाल अरूले प्रयोग नगर्नेजस्ता सावधानी अपनाउनुपर्ने जानकारी दिए । त्यस्तै, सङ्क्रमित व्यक्ति भीडमा नजाने, जानैपरेमा मास्क प्रयोग गर्ने, सार्वजनिक यातायात तथा शौचालयको ढोका, चुकुल छोएपछि हात राम्रोसँग धुने, हात धुनुअघि आँखा, नाक र मुखमा हातले नछुन चिकित्सकको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images