images
images
  • होसियार गर्नुहोस् ! यसरी फस्नुहोला हनी ट्र्यापमा

    काठमाडौं-हेर्दा आकर्षक, सुटेडबुटेड भएर हिँड्ने। व्यवस्थित बसाइ। पैसावाल देखिने। जति पनि खर्च गर्न सक्नेजस्ता। कुराकानी गर्न खप्पिस। उनीहरू कामभन्दा पनि सम्बन्ध जोड्न र रसरमाइलो गर्न आतुर देखिन्छन्। छोटो समयमा विश्वासमा लिई आर्थिक प्रलोभनमा पार्न खोज्छन्। शारीरिक सम्बन्धको दबाबसमेत दिन्छन्। यस्ता गतिविधि गर्ने महिला या पुरुष प्रेमको बहानामा आर्थिक लाभ लिने अपराधमा संलग्न भेटिन थालेका छन्। यसलाई ‘हनी ट्र्यापिङ’ भनिन्छ।

    उनीहरू सम्बन्ध गाँसेर गम्भीर भएको बहाना बनाउँछन्। विश्वासको फाइदा उठाउँदै ‘भावनात्मक सौदाबाजी’ गरी योजनाबद्ध रूपमा फसाउँछन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतो नेपालमा यस्तो अपराध डरलाग्दो गरी मौलाइरहेको बताउँछन्।

    ओखलढुंगाको सुनकोसी–१ घर भई काठमाडौं कपन बस्दै आएकी २७ वर्षीया देवी थापा कमलपोखरीबाट पक्राउ परिन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतका अनुसार थापाविरुद्ध ओखलढुंगाका कुमार गिरीले ठगी तथा बैंकिङ कसुरको उजुरी दिएका छन्। हनी ट्र्यापिङमा पारी युवाहरूलाई ठगी गरेको आरोपसमेत उनीविरुद्ध लागेको छ। यसरी लाखौं रुपैयाँ ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

    के हो हनी ट्र्याप ?
    हनी ट्र्याप भन्नाले शारीरिक आकर्षण प्रयोग गरी कसैलाई फसाउने तरिका हो। प्राय ठूला व्यवसाय गर्ने व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूलाई आफ्नो सौन्दर्यमा लोभ्याएर फसाउने गरेको देखिन्छ। प्रहरीले यसलाई अपराधको नयाँ शैली भन्दै आएको छ। पुरुषहरू युवतीको मायाजालमा परी विवाहको लोभमा पर्दा नराम्ररी फसेको दृष्टान्त प्रहरीमा देखिने गरेको छ।

    काठमाडौं घट्टेकुलो बस्ने लालसरी शाही र कल्पना हमाल गत चैतमा पक्राउ परे। उनीहरूविरुद्ध कोटेश्वरका एक पुरुषले उजुरी दिएका थिए। सामान्य चिनजानमा यी महिलाले ती पुरुषलाई होटलमा भेट्न बोलाई अनेक बहानामा गोप्य भिडियो बनाएका थिए। त्यही भिडियोको दुरुपयोग गरी उनीहरूले पटक–पटक गरेर लाखौं रुपैयाँ लिए। पुनः ८ लाख रुपैयाँ मागेपछि पीडितले प्रहरीमा उजुरी दिएको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइराला बताउँछन्। ‘अनुसन्धानका क्रममा उनीहरूले अरूलाई पनि यसैगरी फसाएको पाइयो’, कोइराला भन्छन्।

    दाङ प्रहरीले आपराधिक लाभ ९एक्सटर्सन० कसुरमा सीतादेवी थापा, खुमा वली, सुष्मा परियारलाई अघिल्लो महिना पक्राउ गरेको थियो। ती महिलाले कानुनी परामर्शको बहानामा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर एक पुरुषसँग बार्गेनिङ गरेका थिए। ५० लाखबाट बार्गेनिङ गरेर १८ लाख रुपैयाँ लिएका थिए।

    सीतादेवी बस्दै आएको डेराबाट ७ असारमा पीडितलाई धम्की दिई लिएको १७ लाख रुपैयाँको चेक एक थान प्रहरीले बरामद गरेको थियो। नगद एक लाख रुपैयाँ ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको थियो।

    यूएई दुबईबाट फर्किएका सिन्धुलीका सुरज नेपालम रोजगारीको खोजीमा थिए। तर, के गर्ने उपाय थिएन। यसै क्रममा उनलाई विदेशबाट एउटा इमेल आयो। इमेलमा विदेशी युवतीले केही आर्थिक सहयोग मागेकी थिइन्। दुईबीच सम्पर्क बढ्दै गयो। विवाह गर्नेसम्मको योजना बन्यो। पछि थाहा भयो– विदेशी युवतीको नाममा इमेल आईडी बनाएर ठगी गर्ने रमेश खड्का रहेछन्। उनले विभिन्न प्रलोभनमा सुरजबाट ७ लाख रुपैयाँ लिइसकेका थिए।

    युवतीहरूका नाममा सामाजिक सञ्जालमा अकाउन्ट बनाई अनलाइनबाट ठगी गर्ने दोलखाका रमेश खड्का, नवलपरासी रामग्रामका विसेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीहरूको बैंक खाताबाट १५ करोड रूपैयाँबराबरको कारोबार भइसकेको खुलेको छ। प्रहरी नियन्त्रणमा रहेका तीनै जनाले लोभमा परेर काम गरेको बयान दिएका छन्।

    यी केही उदाहरण मात्रै हुन्। मायाप्रेमको बहानामा यस्ता आर्थिक अपराध बढिरहेको ब्युरोका प्रवक्ता महतो बताउँछन्। ‘पछिल्लो समय हनी ट्र्यापिङमा संग्लन हुनेको संख्या बढ्दो छ’, उनी भन्छन्, ‘विभिन्न बहानामा सम्बन्ध गाँस्ने, गोप्य भिडियो तथा फोटो खिच्ने गर्छन्। सहमतिमा खिचेको त्यही भिडियो तथा फोटोलाई देखाएर पैसाको बार्गेनिङ गर्ने प्रवृत्ति मौलाउँदै छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images