मुम्बई । भारतको ‘राष्ट्रिय चलचित्र अवार्ड २०२१’ सम्पन्न भएको छ । सोमबार दिल्लीको विज्ञान भवनमा ६७औँ अवार्ड सम्पन्न भएको हो ।
अवार्ड समारोहमा साउथ सुपरस्टार रजनीकान्तलाई ५१औँ ‘दादासाहेब फाल्के अवार्ड’ बाट सम्मानित गरिएको छ । यस्तै, अभिनेत्री कंगना रनौत, अभिनेता धनुष, मनोज बाजपायेलाई शीर्ष सम्मान प्रदान गरिएको छ ।
अभिनेत्री कंगना रनौतलाई चलचित्र ‘मणिकर्णिका’ र ‘पंगा’ का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड प्रदान गरिएको हो । ‘उत्कृष्ट अभिनेता’ को अवार्डमा चलचित्र अशुरनबाट धनुष र चलचित्र भोंसलेबा मनोज बाजपायेले प्राप्त गरेका हुन् ।
उनीहरूलाई उपराष्ट्रपति एम वेनकाई नायडूले अवार्ड प्रदान गरे । यता ‘उत्कृष्ट फिचर फिल्म’तर्फ प्रियादर्शनको मलायलम अवधि महाकाव्यमा आधारित ‘मरकाराः लायन अफ द अरबियन सी’ले प्राप्त गरेको छ ।
त्यस्तै ‘उत्कृष्ट हिन्दी फिल्म’ को अवार्ड दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको ‘छिछोरे’ ले प्राप्त गरेको छ । कोरोना महामारीका कारण अवार्ड समारोह २०२० बाट २०२१ मा सरेको थियो ।


विश्व खबर 



















