फिल्म ‘मालिका’ रिलिजपश्चात् अभिनेत्री रेखा थापाले दुई वटा फिल्म बनाउने घोषणा गरेकी छिन् । एउटा फिल्म रेनशा वान्तवा राईले निर्देशन गर्ने सम्झौता भएको छ भने अर्को सवीर श्रेष्ठले निर्देशन गर्ने पक्का भएको छ । तर, फिल्म घोषणा गरेको साढे २ वर्ष बितिसक्दा पनि छायांकन सुरु हुन सकेको छैन ।
सवीरको निर्देशनमा बन्ने भनिएको फिल्मका लागि अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल पक्का भएको समाचार बाहिरिएको थियो । सौगातसँग कागजी सम्झौता भएको थियो भने दयाहाङसँग मौखिक कुराकानी मात्रै भएको थियो ।
रेखाका अनुसार यस फिल्मका लागि उनले कलाकार र प्राविधिकलाई अग्रिम पारिश्रमिक पनि दिएकी थिइन् । फिल्म छायांकन सुरु हुन नसक्दा रेखालाई घाटा परेको छ ।
रेखा कोरोनाका कारण फिल्मको काम रोकिएको बताउँछिन् । उनले भनिन्, ‘अहिले फिल्म बनाउने अवस्था कहाँ छ र ? मान्छेहरू अनेक दुःखमा छन् । यस्तो बेला फिल्म बनाउने भन्दा पनि सहयोग गर्ने तर्फ लाग्नुपर्छ ।’ रेखा अझै एक वर्ष फिल्म नबनाउने पक्षमा छिन् ।
‘मलाई लाग्छ फिल्म क्षेत्र चलायमान हुन अझै एक वर्ष लाग्छ’, रेखा भन्छिन्, ‘मैले फिल्म सुरु गरे भने पनि २०२२ को मध्यबाट गर्छु होला ।’
फिल्ममा हिम्मतवाली छवि बनाएकी रेखाले कोरोनाका कारण फिल्म बनाउने हिम्मत गर्न सकेकी छैनन् । रेखा आफू नयाँ फिल्ममा फरक अवतारमा देखिने बताउँछिन्। फिल्मकै लागि उनले आफ्नो तौल घटाएकी छिन् ।


विश्व खबर 



















