फिल्मी दुनियाँ गसीपको दुनियाँ हो । यहाँ मानिसहरु आफू लाइमलाइटमा आउन अनेकौं गफ दिन्छन् । बलिउडलाई हलिउडपछिको ठूलो फिल्म उद्योग भनिन्छ । यहाँ बन्ने फिल्मको संख्या र कलाकारहरू स्टारडम लोभलाग्दो छ । बलिउड कलाकारका फ्यान विश्वभर छन् । जति ठूलो बलिउड छ, त्यहाँका कलाकारले बोलेको विषयको चर्चा पनि त्यति नै ठूलो हुन्छ । बलिउडमा केही कलाकार यस्ता पनि छन्, जो आफूले बोलेकै कारण विवादमा तानिएका छन् । बलिउडका कलाकारलाई यदि कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।
शाहरुख खान पछिल्लो समय आफ्नो छोरा जेलमा रहेकोले बढी चर्चामा छन् । पछिल्लो समय बलिउडमा ठीकठाक समय नरहेका कलाकार हुन् शाहरुख खान । किंग खानको उपनाम पाएका शाहरुख यतिबेला जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनै शाहरुखले एकपटक ‘म पोर्नस्टार बन्न चाहन्छु’ भनेका थिए । एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन् । उनले पोर्नस्टार बन्न मिहिनेत लाग्नेसमेत बताए । यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा हंगामा भयो । केही समयपछि शाहरुखले आफूलाई ‘गिल्टी’ फिल पनि भएको बताएका थिए ।
बलिउडका टपका कलाकारहरुको आपसी सम्बन्ध खासै राम्रो हुँदैन । शाहरुखसँग सम्बन्ध टाढा हुनेमा पर्छन् बलिउडका मिस्टर पर्फेक्ट आमिर खान । यिनै आमिरले एकपटक आफ्नो कुकुरको नाम शाहरुख रहेको बताएका थिए । त्यतिबेला बलिउडमा निकै हंगामा भएको थियो । ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो रु तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुुकुरको नाम हो ।’ आमिरले ठट्टा गर्दै सामाजिक सञ्जालमा लेखे पनि यसले शाहरुखसँगको दुश्मनी बढाउने काम गर्यो । आमिरले पनि यो शाहरुखलाई नै इंगित गरेका थिए ।
सलमान त झन लफडा गर्न र विवाद निम्त्याउन खप्पिस छन् । शाहरुख र आमिरपछि अर्का खान अर्थात् सलमानले विवाद ननिम्त्याउने कुरै भएन । बलिउडमा भाइजान भनेर चिनिने सलमान निकै विवादमा तानिने गर्छन् । यिनै सलमानले एकपटक ऋतिक रोशन र ऐश्वर्या रायमाथि व्यंग्य गरेका थिए । सञ्जयलीला भन्साली निर्देशित गुजारिस फिल्म रिलिज हुँदा उनले ‘कुकुर पनि फिल्म हेर्न गएन’ भन्ने भनाइ एक अन्तर्वार्तामा दिएका थिए । सञ्जयसँग दोस्रो फिल्मदेखि टाढिएका सलमानले ऐश्वर्या भएपछि नबोल्ने कुरै भएन । त्यसपछि ऋतिकसँग पनि सलमानको दूरी बढ्यो । किनकि फिल्म फ्लप भए पनि यसलाई फिल्मकर्मीले रुचाएका थिए । फिल्मले उठाएको मुद्दा र ऋतिकले गरेको अभिनय प्रशंसा यतिबेला पनि हुने गरेको छ ।
कुनै समयका एकदमै चकलेटी हिरोको उपाधि पाएका बलिउडका कवीर सिंह अर्थात् शाहिद कपुर पनि विवादमा तानिने गर्छन् । आफ्नो स्टारडमलाई फेरि एकपटक व्यूँताएका शाहिद कुनै समय बलिउडकी चमेली अर्थात् करीना कपुरको प्रेममा थिए । प्रेम पछि ब्रेकअपमा परिणत भयो । त्यसबेला यी दुईको फिल्म ‘जव वी मिट’ हिट भयो । त्यसपछि शाहिदलाई प्रश्न तेर्सियो ‘अब करिनासँग काम गर्ने कि नाइँ रु’ उनले जवाफ दिए ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु।’ त्यसले करिनासँग शाहिदको दूरी झनै बढ्यो ।


विश्व खबर 



















