काठमाडौं । गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बुद्ध एयरले स्पष्ट पारेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई बुद्ध एयरले बुझाएको प्रतिबेदन अनुसार जहाजमा कुनै पनि समस्या नभएको स्पष्ट पारेको हो ।
सोमबार बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) लाई प्रतिवेदन बुझाउँदै जहाजमा कुनै पनि समस्या नभएको बताएको हो।गएको ११ गते बुद्ध एयरको काठमाडौं-विराटनगर उडानमा उड्नुभन्दा पहिले ‘क्रु टिम’ले जहाजको ‘इन्डिकेटर’ को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ।
बुद्ध एयरले आन्तरिक छानबिन गरेर बुझाएको प्रतिवेदनमा क्रु टिमले बाहिरी सूचनामा मात्र निर्भर हुँदा समस्या आएको बताएको छ। प्रतिवेदनमा क्याप्टेन एजी शेर्पाले उडाएको उक्त जहाजमा पहिले नै समस्याको संकेत जहाजले गरेकोसमेत उल्लेख गरिएको छ।
क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा बुद्ध एयरले छानबिन समिति गठन गरेको थियो। प्रतिवेदनमा उड्नुभन्दा पहिले ककपिट भित्र देखिएको इन्डिकेटरलाई क्रु टोलीले ध्यान नदिएको समेत उल्लेख गरेको छ। ‘बाहिरी सूचनामा बढी भर पर्दा समस्या आएको हो, इन्डिकेटरले पहिले नै संकेत गरेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
ठूलो दुर्घटनाबाट जोगिएको बुद्ध एयरको बुद्ध एयरको ‘९ एन– एएनआई’ कलसाइनको एटीआर–७२ जहाज साढे २ घण्टा आकाशमै घुमेर काठमाडौंमै अवतरण गर्न सफल भएको थियो। काठमाडौंबाट विराटनगरका लागि बिहान ८ बजेर ५ मिनेट जाँदा उडेको थियो।
विराटनगर पुगेपछि अतवरण गर्न सकेन। जहाजको हाइड्रोलिकमा समस्या भएपछि जहाज फेरि काठमाडौंमै फर्किएको थियो। विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौं फर्किँदा उडान दलले यात्रुलाई सामान्य प्राविधिक समस्या भएको र काठमाडौं पुगेर फर्किने जानकारी गराएका थिए। काठमाडौंको आकाशमाथि आएपछि पनि जहाज अवतरण नगरेपछि भने त्रासको वातावरण सिर्जना भयो। यात्रुहरु एकाएक त्रसित भएका थिए।
जहाज काठमाडौं विमानस्थलमा १०स्१६ मा अवतरण गरेको थियो। जहाज होल्ड भएपछि विमानस्थल कार्यालयले उद्धार तयारी गरेर धावनमार्ग खाली गरेको थियो। सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए।


विश्व खबर 



















