दैलेख- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भएको बताएकी छन् । जिल्लास्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख पुगेकी झाँक्रीले यस्तो बताएकी हुन् ।
समाजवादी प्रेस संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव झाँक्रीले केपी ओलीको अकर्मण्यताका कारण अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनुपरेको बताइन् । उनले ओली र ओली प्रवृत्तिका व्यक्तिहरू वडा तहसम्मै रहेको समेत औँल्याइन् ।
तीनै तहका निर्वाचनहरू समयमै सम्पन्न हुने बताउँदै झाँक्रीले भनिन्, ‘हाम्रो पार्टीले आगामी निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नेछ । उनले निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य गरेर जाने बताइन् । उनले नेकपा (एकीकृत समाजवादी)ले केपी ओली नेतृत्वको नेकपा एमालेभन्दा दुई सिट भए पनि बढी जित्ने दाबी गरिन् ।
सोही अवसरमा उपमहासचिव प्रकाश ज्वालाले आफूहरूले कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने नेतृत्व गरेको दाबी गरे । संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने व्यवस्था नै नभएको बताउँदै उपमहासचिव ज्वालाले केपी शर्मा ओलीले संविधान मिचेर संसद् विघटन गरेको आरोप लगाए । दुई पटक संसद् विघटन भएसँगै नेपालको राजनीति उथलपुथल भएको उनको भनाइ थियो ।
ओली बादशाह बन्न खोजेको आरोप लगाउँदै ज्वालाले एमाले पार्टी कम्युनिस्ट नभएको दाबी गरे । आफूहरूले संविधानमाथिको आक्रमणविरुद्ध विद्रोह गरेको उनको भनाइ छ । ‘हामीले नेकपा एमाले विभाजन गरेका होइन, हामी त पार्टी एकताको पक्षमा उभिएका हौँ, उनले भने, ‘नेकपा (एकीकृत समाजवादी पार्टी) एमालेको क्रान्तिकारी पुनर्गठन भएको हो ।’


विश्व खबर 




















