images
images
  • दशैं लगत्तै कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको तयारी

    काठमाडौं- सत्तारूढ गठबन्धनले दशैं लगत्तै कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ। नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने र नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार, ५ कात्तिकसम्म मुख्यमन्त्री परिवर्तन गर्ने तयारी छ ।

    गत वैशाखमा कांग्रेस र माओवादीबीच ६ महीनापछि मुख्यमन्त्री शाहीले राजीनामा दिने सहमति भएको थियो। त्यही सहमति अनुसार, माओवादीले प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न लागेको हो ।

    कांग्रेस कर्णाली संसदीय दलका सचेतक हिमबहादुर शाही नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, “नयाँ घटनाक्रम विकसित भएन भने दशैंपछि सरकारको नेतृत्व फेरिन्छ ।”

    माओवादी केन्द्रका कर्णाली संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट भने वैशाखको सम्झौताबारे मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सबैभन्दा बढी जानकार भएको बताउँछन् । संघमा देखिएको राजनीतिक समीकरणको प्रभाव कर्णालीमा पनि देखिन सक्ने उनको भनाइ छ ।

    संघमा जस्तै कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीचको सहमति बन्दा मुख्यमन्त्री परिवर्तन नहुन पनि सक्ने विष्ट बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images