images
images
  • सफल जीवनका लागि स्वस्थ जीवन,  स्वस्थ जीवनका लागि सन्तुलित भोजन

    सफल जीवनका लागि स्वस्थ जीवनको निकै महत्त्व छ । जीवनमा सफलता र समृद्धि  चाहने व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नै पर्दछ । स्वस्थ जीवनका लागि सन्तुलित भोजन हुन आवश्यक छ । सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो ।

    सन्तुलित भोजनको सेवनले  शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरुबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । त्यतिमात्र हैन, यसले शरीरको वृद्धि विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

    सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त हुन्छ, जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । सामान्यतया सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ ।

    भोजनको सही तरिका

     स्निग्ध(चिल्लो) भोजन: हाम्रो भोजनमा घ्यु, तेल आदि प्राकृतिक स्निग्ध (चिल्लो) द्रव्य उचित मात्रामा हुनुपर्दछ । यस पदार्थको सेवनले मल बिसर्जनमा सूविधा हुन्छ ।

    ताजा र तातो भोजन: भोजन सधै ताजा र तातो हुनुपर्दछ । यस्तो भोजन स्वादिष्ट हुनूका साथै पाचक, अग्नि बढाउने सुपाच्य हुन्छ। यस्तो भोजन पौष्टिक पनि हुन्छ, बासी र चिसो भोजन भारी, तामसिक र अपौष्टिक हुन्छ ।

    भोजनको सुन्दरता: भोजनको रङ्ग, गन्ध, स्वाद तथा स्पर्श रूचिकर हुनु पर्दछ। भोजनप्रति रूचि बढाउनको लागि भोजनलाई अझ स्वच्छ, सुन्दर र आकर्षक हुन आवश्यक हुन्छ । निरन्तर एक प्रकारको भोजन खाना अरूची हुन सक्छ ।

    एकाग्र चित्त: भोजन सधैं शान्त र प्रसन्न मनले तयार पार्ने तथा सेवन गर्नुपर्दछ। भोजन गर्दा नबोली पलेटी मारी बसेर सेवन गर्नु राम्रो हुन्छ । गफ गर्दै वा टिभी हेर्दै भोजन गर्नु हानीकारक हुन सक्छ ।

    भोजनको उचित समयः बिहान सधै नियमित समयमा भोजन गर्नु पर्दछ ।  बिहानको खानामा तारेको, भुटेको नभए राम्रो हुन्छ । बिहानको खाना राम्रो भएमा कोलेस्ट्रोल बढ्ने तथा मधुमेहको खतरा हुँदैन । काँचो अङ्कुरित अन्नहरू जस्तै: मेथि, गहुँ , मुंगी, चना र सानो केराउको मिश्रण तथा फलफूलको प्रयोग भएमा सबै खालको भिटामिन तथा मिनरलहरू प्राप्त हुन सक्दछ । सूर्यास्त भन्दा १ घण्टा अगाडी वा बेलुकी सुत्नु २/३ घण्टा अगाडी भोजन गरी सक्नु पर्दछ, भोजन पश्चात् केहिबेर बज्राशनमा बस्ने गर्नुपर्छ ।

    भोजनको मात्रा: भोजन गर्दा पेटको एक तिहाई भाग खाली रहने गरी सेवन गर्नुपर्दछ। भोजनको मात्राको निर्णय गर्न मानिसको आफ्नो प्रकृति, आयु, पाचक अग्निको शक्ति, हल्कापन र अग्निको तीब्रतालाई विचार गर्नु पर्दछ । पाचनशक्ति राम्रो हुने मानिसले केही धेरै मात्रामा भोजन गरेतापनि धेरै कष्ट हुँदैन। तर पाचनशक्ति कम हुनेहरूले भारी भोजन गरेमा कष्ट हुन सक्छ ।

    आवश्यकता भन्दा कम गरेको भोजनले आवश्यक उर्जा प्रदान गर्न सक्दैन र अत्याधिक मात्रामा सेवन गरेको भोजनले आलस्य, भारीपन, मोटोपन, अपच आदि जस्ता समस्या उत्पन्न गराउँछ, त्यसबाट नै विकारको जन्म हुन्छ । त्यसैले बिहान प्रशस्त भोजन गर्नु र बेलुकी हलुका भोजन मात्र गर्ने, आफ्नो शरीरको प्रकृति तथा गरीने शारीरिक श्रम अनुसार (१/२ वटा सुख्खा रोटी, सब्जी र सुप मात्र) भोजन सेवन गर्ने । सुत्नुअघि  मनतातो दुध सेवन गर्नु राम्रो ।

    भोजन चपाएर खानुपर्ने : राम्रोसँग नचपाएको भोजन ठिकसँग पाचन हुन सक्दैन र अजीर्ण, कव्ज, गैस जस्ता रोगहरू उत्पन्न गराउँछ। भोजन बिस्तारै चपाइ-चपाइ सेवन गर्ने, पेय पदार्थलाई पनि बिस्तारै चपाए झैँ खाने गर्दा भोजन पचाउन सजिलो हुन्छ र थोरै खानाले पनि आवश्यक पोषण प्राप्त हुन सक्दछ । तर, खाना नचपाइ खानाले अपच तथा कब्जियत भइ विभिन्न समस्या आउन सक्छ ।

    भोजन खाएको १ घण्टासम्म पानी नपिउनुस् : जन पश्चात तुरुन्त पानी खाएमा पचाउने अग्नि अर्थात जठारग्नी कमजोर हुनजाँदा पाचन पकृया प्रभावित भइ अपच हुन्छ । त्यसैले भोजन खाएको १ घण्टासम्म वा भोजनको ४८ मिनेट अगाडी सम्म पानी नखानु उत्तम हुन्छ । तर भोजनको विचमा अप्ठेरो परेमा १/२ घुँट लिन सकिन्छ । भोजन पश्चात विहान जुस, दिउँसो लस्सी र रातमा दुध लिनु उचित हुन्छ ।

    सन्तुलित आहार स्वस्थसित कसरी सम्बन्धित छ?

    शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट, खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरिक गतिविधि गर्न आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ । त्यतिमात्र हैन, शरीरलाई आवश्यक मात्रामा पोषकतत्व प्रदान नभएमा यसले कुपोषणको समस्या समेत निम्त्याउने गर्छ । परिणामस्वरुप, मानिसमा रक्तअल्पत्रा, रतन्धो लगायतका समस्या निम्तिने गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images