images
images
  • पूर्व आइजिपी सर्वेन्द्र खनाल अब राजनीतिमा !

    काठमाडौं । नेपाल प्रहरीका पुर्वमहानिरिक्षक सर्वेन्द्र खनाल राजनीति क्षेत्रमा आउने तयारी थालेका छन् । प्रहरी जीवनबाट गत माघमा अवकास पाएपछि सामाजिक क्षेत्रमा सक्रिय बनेका खनाल अबका दिनहरु राजनीति क्षेत्रमा अघि बढाउने निर्णयमा पुगेका हुन् । यो तयारीका लागि उनले केहि दिनदेखि विभिन्न राजनीतिक व्यक्तित्वहरुसंग संवाद गरिरहेका छन् ।

    पुरानै पार्टीमा प्रवेश गर्ने नभई आँफैले नयाँ अभियान शुरु गरेर राजनीतिमा पाइला चाल्ने उनको तयारी छ । ‘म कुनै दल भित्र प्रवेश गर्दिन, नयाँ दल निर्माणमा जुट्नेछु, संचारकर्मीहरुसंग खनालले भने,‘त्यसका लागि हामी केहि साथीहरु सघन संवादमा छौं ।’ राजनीतिमा खारिएका र अनुभव प्राप्त व्यक्तिहरु साथै युवाहरुको गतिलो टिम मार्फत नयाँ दल निर्माण हुने उनले बताए । ‘अहिलेसम्म मैले राष्ट्रसेवक भएर बिताएँ, अब देशको सेवामा पुरै जीवन अर्पण गर्नेछु, उनले भने,‘अन्य दलको विकल्प हाम्रो दल नभई, जनताको आवस्यकताको दल हुनेछ ।’ देश र जनतालाई केन्द्रविन्दुमा राखेर अबको जीवन राजनीति र समाजसेवामा विताउने निर्णयमा पुगेको उनले सुनाए । यसैगरि, पुर्वमहानिरिक्षक खनालका बारेमा यहाँ केहि अतितका बिषय खोतल्ने प्रयास गरिएको छ ।

    संयुक्त राष्ट्रसंघको सुरक्षा मिसनमा सफल र अब्बल सावित भएका खनाल एक बौद्धिक व्यक्तिको रुपमा परिचित समेत छन् । उनले नेपालको सुरक्षा क्षेत्रमा आफ्नो जीवनको तीन दशकभन्दा धेरै समय दिए । उनले आफ्नो सारा जीवन जनताको सुरक्षाका लागि खर्चेर अवकासपछि विवादमा तान्ने प्रयास समाजको एक भ्रान्ति भएको चित्रण गरे । उनको यो भनाइको आशय सजिलै बुझ्न सकिन्थ्यो, ‘निर्दोष व्यक्तिलाई अनाहकमा विवादमा मुछियो भने समाजमा खराब व्यक्तिहरूको उदय हुन्छ र असल व्यक्तिहरूको नाम हराउन थाल्छ ।’ यो अपराध मनोवृति अन्त्य गर्न विवादको विषय राम्ररी बुझेर समाजले निर्णय गर्नुपर्ने उनको धारणा छ ।

    खनालले कुशलतापूर्वक नेपाल प्रहरीको नेतृत्व हाँकेका हुन्, महानिरीक्षक भएर । उनले भने, ‘देशको सेवा दुई तरिकाले गर्न सकिन्छ, औपचारिक र अनौपचारिक । औपचारिकरूपमा मैले तीन दशकभन्दा बढी राष्ट्रको सेवामा बिताएँ । युएन मिसनमा नेपालको नाम राख्ने र विश्वमा शान्ति कायम गर्ने प्रयासहरू यसका उदाहरण हुन् ।’ खनालले नेपालभित्र मात्र नभई विश्वका मुख्य सुरक्षा तहमा पनि निर्णायक भूमिका निर्वाह गरेका छन् । उनी त्यो अनुभवलाई अनौपचारिकरूपमा सेवाको मैदानमा उतार्ने योजनामा छन् । भन्छन्, ‘जनताको हितमा झन बढी जिम्मेवारीपूर्वक सेवक बनेर जाने प्रण गरेको छु ।’ के तपाईं अब राजनीतिमा पाइला चाल्दै हुनुहुन्छ रु खनालले स्वीकृति सूचक जवाफ दिए, ‘हो, म सेवक बनेर अघि बढ्नेछु ।

    अहिले नेपालमा देखिएजस्तो राजनीतिमात्र मेरो उद्देश्य हुने छैन । समाज सुधार र देश विकास मेरो लक्ष्य हो । यसमा देशभरबाट हजारौँ व्यक्तिहरूको साथ पाउने खबरहरू आइरहेका छन् । अतीतका योगदानहरूलाई रूपान्तरित बाटोमा लैजाने र जनताका झुपडीमा सेवा गर्ने अवसर अबको मेरो जीवन हुनेछ ।’ पुर्वमहानिरिक्षक खनाललाई कांग्रेस र कम्युनिष्ट पार्टी छोडेका केहि बरिष्ठ नेताहरुले साथ दिने भएका छन् । उनले यसका लागि आफ्नो सम्पर्क कार्यालयमा बोलाएर छलफल चलाएका छन् । समाजका धेरै चर्चित अनुहारहरु खनालसंग जोडिने भएका छन् ।समाचार दैनिकबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images