images
images
  • जुम्लामा चट्याङले चालिस भेडा मरे, पन्ध्र घाईते

    जुम्ला- जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राति चट्याङ लागेर ४० वटा भेडा मरेका छन् । १५ वटा भेडा घाइते भएका छन् ।

    गोठीचौर गाउँपालिका– ४ स्थित सामुदायिक वनअन्तर्गत चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका नानो भण्डारीका १० भेडा मरेको दुई घाइते, मुनबहादुर भण्डारीका चार मृत्यु दुई घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेको सात घाइते र देवीप्रसाद अधिकारीको नौ मृत्यु, चार घाइते भएको इलाका प्रहरी कर्यालय गुठीचौरका इञ्चार्ज कमल श्रेष्ठले बताए । चट्याङ लागेर भेडाबाख्रा मरेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै निकै प्रभावित बनाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए । उनले भने, “यो क्षेत्रको अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो ।” भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा अघि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए।

    भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने गुठीचौर गाउँपालिकाका स्थानीयवासी बताउँछन् । ठूलो मात्रमा क्षति भएपछि भेडापालक किसानले राहतको माग गरेका छन् । जुम्लामा विसं २०७० मा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब ७०० भेडाबाख्रा मरेका थिए भने विसं २०७७ मा ५०० भेडा मरेको तथ्याङ्क रहेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images