images
images
  • कांग्रेस अधिवेशन: कालीकोटका सबै पालिकामा सभापति सर्वसम्मत चयन

    • images
    • ११ आश्विन २०७८

    कालीकोट- कालीकोट जिल्लामा नेपाली कांग्रेसले नौवटै स्थानीय तहमा पालिका सभापति सर्वसम्मत चयन गरेको छ । जिल्लामा दुईवटा प्यानल देखा परे पनि वडा तथा पालिकास्तरमा भने कालीकोट कांग्रेसमा सहमति जुटेको छ ।

    जिल्लाका नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको अधिवेशन यसभन्दा अगाडि सम्पन्न भइसकेको कांग्रेस नेता जगतजंग विष्टले जानकारी दिए ।

    जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकामा रामचन्द्र पौडेल खेमाका भानुभक्त आचार्य सभापतिमा चयन भएका छन् । उता पलाँता गाउँपालिकामा शेरबहादुर देउवा खेमाका धीरबहादुर बम सभापतिमा चयन भएका छन् ।

    आइतबार सम्पन्न पालिका अधिवेशनमा पनि सबै ठाउँमा सहमति भएको छ । जिल्लाको रास्कोट नगरपालिमा वीर फर्साल, तिलागुफा नगरपालिकामा धीरेन्द्र थापा, महावै गाउँपालिकामा पुरारी अधिकारी, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पचालझरना गाउँपालिकामा प्रजापति सन्ज्याल, शान्नी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी र शुभकालिका गाउँपालिकामा दीर्घबहादुर शाही सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

    कांग्रेसले स्थानीय तहका सभापतिमा बहुमतका आधारमा नेतृत्व भागबन्डा गरेको पाइएको छ । नौवटा स्थानीय तहमा महिलाको नेतृत्व भने शून्य देखिएको छ ।

    कालीकोटमा कांग्रेसले जिल्ला अधिवेशन पनि सर्वसम्मत गर्ने तयारी थालेको छ । त्यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका नेता छलफलमा जुटिरहेका छन् । १२ असोजमा दुईवटै प्रदेशको अधिवेशन उद्घाटन हुने कांग्रेस नेता दमनबहादुर शाहीले बताए ।

    नौवटै स्थानीय तहमा पौडेल र सिटौला खेमाले सभापति आफ्नो पक्षमा बढी रहेको दाबी गरेका छन् भने देउवा खेमाले आफ्नो पक्षका बढी सभापति आएको दाबी गरेको छ । कालीकोटमा पौडेल खेमा बलियो देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images