काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले उत्साहित हुँदै हिजो राति १०ः३४ बजे फेसबुकमा एउटा पोस्ट शेयर गरिन्, जहाँ उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले फोन गरेर आफ्नो हालखबर सोधेकोप्रति खुसी व्यक्त गरेकी छन् । सँगै उनले फोनमा आएका, डायल गरिएका नम्बरहरू देखिने गरी स्क्रिनसट पनि राखेकी थिइन् । उनले अहिले त्यो फोटो हटाइसकेकी छन् । करिश्माको फेसबुक पेजमा अहिले स्टाटस मात्रै छ ।
पोस्टमुनि आएका केही कमेन्टकै कारण उनी फोटो हटाउन बाध्य भएकी हुन् । नहटाउन् पनि किन, स्टाटस र फोटोबीचको तालमेल जो मिल्दैमिल्दैन । उनले ओलीबाट आफूलाई फोन आएको लेखेकी छन्, फोटोमा उनलेचाहिँ फोन गरेको देखिन्छ । कमेन्टहरू बर्सिन थालेपछि उनले फोटो त हटाइन् तर हिजोआज डिलिट गरिहालेँ भनेर सुखले बस्न कहाँ पाइन्छ र । स्क्रिनसटकको जमाना जो छ ।
त्यही स्क्रिनसट राखेर धेरैले उनलाई धेरैले टिप्पणी र प्रश्न गरेका छन् ।
फेसबुकमा बिनोद खड्काले कमेन्ट गरेका छन-‘कल त तपाईंले गरेको देखिन्छ ।’ खासमा फोनमा आएको, गएको र छुटेको कल देखाउने तीनथरि एरो हुन्छन् । आएको कल देखाउँदा ‘हरियो चिन्ह भएको तीर (एरो)’ नम्बरविपरीत फर्किएको हुन्छ । गएको कल देखाउँदा त्यही तीर नम्बरतिर फर्केको हुन्छ । छुटेको अर्थात् मिस्ड कल देखाउनेचाहिँ रातो चिन्ह हुन्छ । अरूको फोन आउँदा एरो यता फर्किन्छ, केपीले गर्दा उता फर्किने रैछ ?
ओलीसँग भएको व्यक्तिगत कुराबारे हतारहतार फेसबुकमा शेयर गरेकोमा जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले कमेन्टमा लेखेका छन्, ‘कठै १ तपाईंको स्तर बल्ल थाहा भो ! तपाईंंलाई कसरी त्यति ठूलो नेतृ मानेर हिँडिएछ । अहिले यो कुरा सुनेर चैं म आफैँ तीन छक परेँ ।
करिश्मा नाम चलेकी कलाकार हुन् । उनले आफूलाई एउटा ‘सामान्य कलाकार’ भने पनि उनका लाखौँ फलोअर्स छन् । उनको सिको गर्नेहरू पनि कम छैनन् । त्यसैले उनका सार्वजनिक गतिविधिमा धेरैको नजर हुन्छ । आफूले के गर्दैछु, कस्तो पोस्ट, फोटो शेयर गर्दैछु भन्नेबारे विशेष ख्याल गर्न उनलाई शुभचिन्तकहरूले सुझाएका पनि छन् ।
करिश्माको बयान : फोन त केपी ओलीले नै गर्नुभएको हो, खै कसरी आउटगोइङ देखायो
फोटो हटाए पनि मैले स्टाटस हटाएकी छैन । किनभने, उहाँले मलाई फोन गरेर प्रोत्साहित त गर्नुभएकै हो नि ! अनि स्टाटस किन हटाउने ? केपी शर्माज्यूसँग मेरो लामै कुराकानी भयो । हालखबर सोध्नुभयो, परीक्षाको लागि शुभकामना दिनुभयो । उहाँले मलाई डुंगाको कथा सुनाउनुभयो । अनि, ढिला गरेर पढ्नुभएका ’काले बाजे’को कुराहरू पनि सुनाएर प्रोत्साहित गर्नुभयो । तर, लामै गफ भए पनि उहाँसँग राजनीतिक गफ भने भएन ।
म फेरि भन्छु, फोटोमा आउटगोइङ कल देखिए पनि उहाँलाई मैले फोन गरेको होइन । उहाँले नै मलाई फोन गर्नुभएको हो । मैले किन फटाइँ बोल्छु र रु न मलाई लाउन कमी छ, न खान कमी छ ।
सत्य कुरा बोल्दा सामाजिक सञ्जालमा भइरहेका आलोचनाहरूले मलाई साच्चिकै दुःखी बनाएको छ । -(दिप्सन लुइटेलसँगको कुराकानीमा आधारित)


विश्व खबर 



















