images
images
  • बहुआयामिक ब्यक्तित्व कमरेड ‘ध्रुव’

    • images
    • भदौ ३१, २०७८

    भूमिगतकालीन राजनीतिक यात्रामा उहाँको नाम कमरेड ध्रुव थियो । नवपुस्ताले उहाँलाई पशुपति दाइ भनेर श्रद्धापूर्वक सम्बोधन गर्थे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अभिलेखमा कमरेड पशुपति चौलागाईँ दर्ता छ । उहाँको पदीय जिम्मेवारी पोलिटव्युरो सदस्यसम्म थियो । विभिन्न नाम, पदवी र उपनामले चिरपरिचित उनै पशुपति चौलागाईँ पृथ्वीको पिण्डबाट सदाका लागि विदा हुनु भएको छ । उहाँले पृथ्वीबाट विदा लिएका दिनहरु वढ्दै गएका छन् । महिनाहरु वढ्दै जानेछन् । यसरी नै बर्षहरु पनि थपिदै जाने छन् । तर पशुपति दाइ अर्थात कमरेड पशुपति चौलागाईँका राजनीतिक र सामाजिक योगदान भने नेपाली राजनीतिक–सामाजिक आकाशमा सदा टल्कीरहने छ– ध्रुवतारा जस्तै । अनि अनन्त–अनन्तसम्म उदाईरहने छ ।

    विश्वव्यापी महामारी कोभिड– १९ को सिकारमा उहाँ पनि पर्नुभयो । २०७८ वैशाख २८ गते राती करिब साँढे नौ बजे काठमाडौंस्थित मनमोहन अस्पतालको शैयामा उहाँको शरीर लोलाउदै अन्तत् ६२ बर्षको उमेरमा नउठनेगरी ढल्यो । त्यसको भोलिपल्ट बैशाख २९ गते विहान नेकपा एमालेका केन्द्रीय नेता, तत्कालीन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उहाँको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम सलामी दिनुभयो । त्यसैदिन आर्यघाटमा उहाँको पार्थिव शरीर जलेर खरानी वनायो । उहाँलाई जीवित राख्न नसक्नुमा जिउँदाहरुले आफैलाई धिकार्नु सिवाय अरु कुनै उपाय भएन । पश्चतापका आँशुका खोला जति नै बगाए पनि उहाँ नफर्कने यात्रामा विलिन हुनु भैसकेको छ । त्यसैले अब उहाँका बारेमा शोक र चिन्ता भन्दा अर्कै आलोकबाट नियाल्न जरुरी छ । उहाँ जीवित भएको दिनसम्मका जीवनगाथालाई खोतल्नेहरुको खाँचो छ । नजिकबाट उहाँलाई पढ्ने पाठकहरुको आवश्यकता छ । उहाँको जस्तै त्याग, निष्ठा, इमान र निरन्तरताको अनुशरण गर्ने शिष्यहरुको जरुरत छ । उहाँले छाडेर जानुभएको योगदानहरुको सुरक्षा गर्ने मालीहरुको खाँचो छ ।

    विक्रम सम्वत् २०१६ का दिनहरु नेपालको जननिर्वाचित सरकार अलोकप्रिय वन्दै गरेको र पञ्चायतको प्रर्दुभावको दोसाँधमा थियो । प्रजान्त्रतको अन्त र निरञ्कुशतन्त्र उदयका अप्ठेरा दिनहरु गुज्रिरहदा दोलखा जिल्ला साविकको काब्रे–४, हिटीको एउटा अति सामान्य परिवारको एक सदस्यका रुपमा पशुपति चौलागाईँको जन्म भयो । तिनै पशुपति चौलागाईँ लोकतन्त्र र गणतन्त्रका लागि जीवनभर लडिरहनुभयो । जेलनेल, यातना, पीडा खेप्नुभयो तर कहिल्यै झुक्नु भएन ।

    अभाव र कुण्ठाग्रस्त वाल्यकाल
    उहाँको वास्तविक जन्म २०१६ फागुन ५ गते भएको हो । नागरिकतामा उहाँको जन्म मिति २०२० फागुन ५ गते उल्लेख छ । उमेर अन्तरबारे उहाँका सौहदर दाजुभाइ, नातागोतालाई जानकारी छैन् । उहाँलाई जन्मदिने आमा भक्तमाया र बुबा चन्द्रप्रसाद चौलागाईँ जीवित भैदिएको भए वास्तविक उमेर र नागरिकतामा परेको उमेर अन्तर बारे जानकारी हुने थियो । उहाँको वाल्यकाल दुःख, पीडा र तनावको दुष्चर्कमै वित्यो । उहाँले वि.सं. २०३० सालमा कक्षा ५ सम्म हनुमन्तेश्वर स्कुलमा अध्ययन गर्नुभयो । तत्कालीन काभ्रेमा अर्को कुनै विद्यालय नभएकाले उहाँले पढाइ छाड्नु भयो । त्यसवेला उहाँले काभ्रे कृषि फर्ममा काम गर्न थाल्नु भयो । फर्ममा अन्नवालीको नयाँ खोज, नयाँनयाँ विऊका अनुसन्धान र उत्पादन कार्य हुन्थ्यो । घरपरिवारको समस्या टार्न उहाँले कृषि कर्ममा जोत्न प्रयोग गर्न पालिएका चौपायका गोठालोको काम गर्नुहुन्थ्यो । जागिर र अभावका कारण उहाँको पढाइ एक बर्ष रोकिएको थियो ।

    उहाँले पृथ्वीबाट विदा लिएका दिनहरु वढ्दै गएका छन् । महिनाहरु वढ्दै जानेछन् । यसरी नै बर्षहरु पनि थपिदै जाने छन् । तर पशुपति दाइ अर्थात कमरेड पशुपति चौलागाईँका राजनीतिक र सामाजिक योगदान भने नेपाली राजनीतिक–सामाजिक आकाशमा सदा टल्कीरहने छ– ध्रुवतारा जस्तै । अनि अनन्त–अनन्तसम्म उदाईरहने छ ।

    एकबर्षपछि हनुमन्ते स्कुल निम्न माध्यामिक विद्यालया स्तरउन्नती भएपछि उहाँ कक्षा ६ मा भर्ना हुनुभयो । त्यहाँ ७ कक्षासम्म अध्ययन गर्नु भयो । त्यसपछि वैत्यश्वर मावि नाम्दूमा ८ कक्षामा भर्ना हुनुभयो । घरबाट स्कुल जान दुई घण्टा लाथ्यो । उकालो भएकाले फर्कन अझ वढी लाग्थ्यो । विहानभरी घाँस दाउराको काम गरेर खाना खाइवरी स्कुल जानु उहाँको दिनचर्या थियो । फर्कदा भोको पेटमा उकालो यात्राका कठीन दैनिकी उहाँ सुनाइरहनु हुथ्यो । वेलुकी पनि खाजा खाएपछि घरकै काममा उहाँ व्यस्त हुनुपर्ने अवस्था थियो ।
    उहाँले छिमेकी रामेछाप जिल्ला वेतालीमा जन्मनुभएकी सुनिता चौलागाईँसँग २०४१ सलमा विहे गर्नुभयो । ३ छोरी र एक छोरामध्ये जेठी छोरी शोभाको २०६१ साल चैत महिनामा निधन भयो । लामो समय रोगग्रस्त छोरीको निधनपछि निकै समय उहाँ विछिप्त हुनुभयो ।

    rajendra manandhar pasupati

    विद्रोह र विद्यार्थी जीवन
    वैत्यश्वर मावि नाम्दूमा प्रवेशपछि पशुपति चौलागाईँको राजनीतिक सक्रियता बढ्दै गयो । विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा स्कुलमा पहिलोपटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने वातावरण पनि उहाँलगायतको प्रयासबाट भयो । उक्त निर्वाचनमा उहाँ पहिलो स्ववियु सभापति चुनिनु भयो । उहाँको विद्यालय हुँदै विद्यार्थी राजनीतिक सम्वन्ध जिल्लाव्यापी हुँदै गयो । त्यहीवर्ष उहाँ अनेरास्ववियु जिल्ला कमिटि उपाध्यक्ष चुनिनु भयो । विद्यार्थी आन्दोलनकै क्रममा वि.सं. २०३६ को जनमत संग्रहमा वहुदलीय व्यवस्थाको पक्षमा उहाँ उत्रनुभयो । वि.सं. २०३७ सालमा अनेरास्ववियुको कामको जिम्मेवारी पूरा गर्दै शिक्षक जागिरमा प्रवेश गर्नुभयो । बैत्यवशर मावि र दोलखाको सुरीस्थिति हलेश्वर माविमा अध्यापन गर्नुभयो ।

    माध्यामिक तहसम्मको अध्ययनमा उहाँ कक्षाहरुमा पहिलो विद्यार्थी हुनुहुन्थ्यो । विद्यालयमा इमानदार, तीक्ष्ण र वहुआयमिक क्षमता उहाँको थियो । एसएलसी उतीर्णपछि भक्तपुरस्थित सानोठिमी क्याम्पसमा उच्च शिक्षा अध्ययन थाल्नु भएको उहाँ उक्त क्याम्पसको स्ववियु सभापति हुँदै अनेरास्ववियुको केन्द्रीय सदस्य समेत हुनुभयो ।

    पार्टी जीवन
    भूमिगत नाम क. ध्रुवको पहिचानबाट चौलागाईँले २०३८ मंसिर ८ गते पार्टी सदस्यता प्राप्त गर्नुभएको देखिन्छ । तत्कालीन अवस्थामा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्न त्याग, कटिवद्धता, लगाव, इमान, कम्युनिष्ट चरित्र, माक्र्सवाद, क्रान्ति, आन्दोलन र समाजलाई बुझेको र किसान मजदूरको पक्षमा रक्तिम औठाछाप दिनुपथ्र्यो । त्यस्तै विश्वास दिलाउनु भएपछि उहाँले पार्टी सदस्याता प्राप्त गर्नुभएको थियो । त्यसपछि उहाँ उच्च शिक्षा अध्ययनका लागि राजधानी प्रवेश गर्नुभए पनि आन्दोलनका हरेक कार्यक्रम र पार्टीको जिम्मेवारीमा दोलखा नै केन्द्रीत हुनुहुन्थ्यो । २०४२ सालको जनपक्षीय निर्वाचनमा जीतवीर लामाको पक्षमा उहाँ दोलखाका हरेक गाउँवस्ती पुग्नुभयो– माछा चिन्हमा भोट माग्दै । अभिलेख अनुसार उहाँ उहाँ २०४७ मा दोलखाको पार्टी सचिव हुनुभयो ।

    दोलखाको राजनीतिमा सक्रिय उहाँले पुनः २०५४ मा पुनः नेकपा एमाले दोलखाको सचिवकै जिम्मेवारी पाउनु भयो । उहाँको केन्द्रीय राजनीतिमा प्रवेश भने २०५९ मा भएको देखिन्छ । नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनबाट पाँच वर्षको लागि वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित उहाँ आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भयो । नवौ महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै पोलिटव्युरो सदस्यको जिम्मेवारी पाउनुभयो ।
    पार्टीको केन्द्रीय नेतृत्वमा पुगेपछि नेकपा एमाले वागमती अञ्चल सचिवको जिम्मेवारीमा पनि रहनु भयो । उक्त कमिटिको सह–इन्चार्ज र इन्चार्जको जिम्मेवारीमा रहेर वागमती अञ्चलभरी पार्टी काममा सक्रिय रहनु भयो ।

    युवा आन्दोलनको नेतृत्व
    नवयुवाहरुलाई समेटन नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा २०५१ मा पशुपति चौलागाईँ निर्वाचित हुनुभयो । देशभरका युवालाई आन्दोलनमा गोलवन्द गर्दै पार्टी पंक्तिमा उभ्याउन युवा नेताको हैसियतले देशभरीको नेतृत्व गर्नुभयो । उहाँ २०५४ सालमा उक्त संगठनको केन्द्रीय अध्यक्ष हुनु भयो ।

    संसदीय जिम्मेवारी
    पशुपति चौलागाईंको संसदीय यात्रा २०५६ सालबाट सुरु हो । दोलखा जिल्ला क्षेत्र नम्वर १ बाट उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० मा संविधान सभा सदस्यमा समानुपातिकको तर्फबाट निर्वाचित हुनु भयो । २०७४ मा बागमती प्रदेश सभाको सदस्यमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भयो ।संसदीय जिम्मेवारीमा रहँदा उहाँ कहिल्यै कुनै पनि कारणले विवादमा पर्नु भएन । संसदीय मोर्चा सम्हालिरहँदा उहाँ निष्ठावान जनप्रतिनिधिको परिचयमा रहनुभयो । इमान र संसदीय पदलाई कहिल्यै वन्धकी राख्नु भएन । निश्वार्थ उहाँले उक्त जिम्मेवारीलाई पूरा गरेर दोलखाका मतदाताहरुको इज्जत जोगाउनु भयो । नेकपा एमालेको छवि उच्च वनाउन मद्दत गर्नुभयो ।

    (स्रोतः स्वर्गीय चौलागाईँका परिवारजन । शुभचिन्तकहरु । उहाँका वारेमा लेखिएका लेखहरु र सामाजिक सञ्जाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images