काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली लोकदोहोरी गायिका विष्णु माझीको माइतीघर पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीको अवस्था बुझ्न आग्रह गरेसँगै प्रहरी माझीको चापाकोटस्थित माइतीघर पुगेको हो ।
आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० होबिन्द्र बोगटीले जानकारी दिए ।
उनको माइती घरमा कोही पनि नभेटिएको प्रहरीले जनाएको छ । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् ।
आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिए । यता श्रीमान सुन्दरमणि अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जेलैमा’ बोलको गीत यतिबेला चर्चामा रहेको छ।
लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन। माझी काठमाडौँमा बस्दै आएको अनुमान हुने गरेको छ।
तर माइती पक्षले समेत माझी कहाँ बस्छिन् भनेर बताउन नचाहेको एसपी बोगटीले बताए। गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् ।


विश्व खबर 



















