काठमाडौं – नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले निकट भविष्यमै टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने दाबी गरेका छन् । कम्पनीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गर्न लागेको संकेत गरे पनि यस विषयमा विस्तृतमा भने खुलाएनन् ।
‘हामी हाम्रा ग्राहकले फ्री वाईफाई खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गर्नेछौं,’ उनले भने, ‘चाँडै तपाईंहरुले यसबारेमा थाहा पाउनु हुनेछ ।’ उनले डेटा शुल्क महंगो भएका कारण ग्राहकले सावधानीपूर्वक खर्च गर्नुपर्ने बाध्यता रहेकोप्रति आफू जानकार रहेको बताए ।पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता राजेश जोशीले भने टेलिकम कम्पनीले दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र दस्तुर र फ्रिक्वेन्सी महसुलबापत् महंगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल डेटा शुल्क घटाउन नसकिने बताएका थिए ।कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले टेलिकमले लाइसेन्स शुल्कसहित फ्रिक्वेन्सी दस्तुरबापत पनि सरकारलाई वार्षिक ५–६ अर्ब रुपैयाँ बुझाउनुपर्ने अवस्था रहेको बताए ।
उनले टेलिकम कम्पनी र इन्टरनेट सेवाप्रदायकबीच लाइसेन्स दस्तुर असमान रहेको भन्दै यसलाई समायोजन गर्नुपर्ने धारणा राखे । प्रबन्ध निर्देशक अधिकारीले सेवा विस्तारको लागि आवश्यक पर्ने टावर राख्ने स्थान नपाउँदा पनि सेवा विस्तारमा कठिनाई भएको टिप्पणी गरे ।‘भूकम्पपछि धेरै घरबेटीहरु टावर राख्न अनिच्छुक छन्,’ उनले भने, ‘दूरसञ्चार टावर राख्दा त्यसले स्वास्थ्यमा असर पार्छ भन्ने गलत हल्लाका कारण पनि कतिपय घरबेटीहरु टावर राख्न दिन डराउँछन् ।’ उनले केही घरबेटीले टावर राख्न अनुमति दिँदा पनि छिमेकीहरुले विरोध गर्ने गरेको अनुभव सुनाए ।
५ पैसामा एक एमबी डाटा
टेलिकमले आफ्नो डेटा सेवाको औषत मूल्य साढे ५ पैसा मात्रै रहेको दाबी गरेको छ । चार वर्षको अवधिमा प्रति एमबी डेटाको औषत मूल्य ९६ पैसाबाट साढे ५ पैसामा झरेको टेलिकमको दाबी छ । टेकिमले आफ्नो पछिल्लो अवस्थाको बारेमा जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता राजेश जोशीले सन् २०१७ मा टेलिकमको प्रति एममी डेटाको औसत मूल्य करिब एक रुपैयाँ रहेको भए पनि अहिले यो घटेर साढे ५ पैसामा सीमित भएको दाबी गरे ।
डेटा र भ्वाइस सेवाको औषत मूल्य निकै कम रहेकाले ग्राहक वृद्धि हुँदा पनि टेलिकमको आयमा वृद्धि हुन नसकेको उनको तर्क थियो । भ्वाइस सेवातर्फको औषत मूल्यमा पनि उल्लेख कमी आएको जोशीको दाबी छ ।उनका अनुसार सन् २०१७ मा टेलिकमको ६० मिनेटको भ्वाइस सेवा लिँदा लाग्ने औषत खर्च करिब ४० रुपैयाँ थियो । तर, अहिले टेलिकमको नेटवर्क प्रयोग गरी ६० मिनेट भ्वाइस सेवा लिँदा औषत लागत १८ रुपैयाँमात्रै लाग्छ ।टेलिकमले विभिन्न भ्वाइस र डेटा प्याकमार्फत महसुलमा छुट दिएकाले प्रति इकाई आम्दानी कमी आएको जोशीले बताए ।


विश्व खबर 



















