रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा रहेको सिस्ने हिमाल बालगृहमा रहेकी १३ वर्षीया बालिकाको पेटमा १० हप्ताको गर्भ रहेको प्रमाणित भएको छ ।
बालिका बलात्कारको आरोपमा बालगृह सञ्चालकका छोराविरुद्ध उजुरी दर्ता भएको छ । १० नम्बर वडाकी सुनिता चनाराले बाल गृह सञ्चालन गरिरहेकी थिइन् । उनको कान्छा छोरा रवि भनिने २२ वर्षीय कुश्माकरले बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् ।
बालिकाले कुश्मारकी आमा सुनिता र बुवा १० नम्बर वडाध्यक्ष गंगाराम चनाराविरुद्ध पनि श्रम शोषण गरेको उजुरी गरेकी छिन् । आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै बालिकाले नगरपाकिालस्थित न्यायिक समितिमा उजुरी गरेकी थिइन् । न्यायिक समितिले आवश्यक प्रक्रिया पूरा गरेर थप कारबाहीका लागि जिल्ला प्रशासन र प्रहरीमा सिफारिस गरेको छ ।
नगरप्रमुख गोर्खबहादुर केसीले न्यायिक समितिको सिफारिसका आधारमा घटना विवरण समेत उल्लेख गरेर नियामक निकायमा उजुरी पठाइएको जानकारी दिए । बालिकाको उजुरी, नगरपालिकाको चिठी मेल गरेर जिल्ला प्रशासन र प्रहरीमा पठाए लगत्तै बालिकालाई पनि गाडीको व्यवस्थापन गरेर नगरपालिकाले नै जिल्ला सम्म पुर्याइदिएको थियो । उनको साथमा उपप्रमुख तथा न्यायिक समिति संयोजक गीता नेपाली पनि जिल्ला पुगेकी छिन् ।
‘बालिकाले न्यायिक समितिमा उजुरी गरेपछि नगर अस्पतालमा गर्भ जाँच गर्दा गर्भवती रहेको पुष्टि भयो,’ नगरप्रमुख केसीले भने, ‘यो घटनामा नगरले केही गर्न मिलेन र सम्बन्धित निकायमा फरवार्ड गरिएको छ ।’
उक्त बालगृहमा हाल १२ जना बालबालिका छन् । बाल गृहमा नगरपालिकाको साथसाथै अरु विभिन्न निकायले सहयोग गर्दै आएका थिए । यी बालिका कक्षा ३ मा पढ्दादेखि नै यहाँ बस्न थालेकी थिइन् । तीन वर्ष अघिदेखि उनि बाल गृहमा बस्दै आएकी थिइन् ।
पहिलो र दोस्रो लकडाउनका बेला आफूमाथि पटकपटक बलात्कार भएको बालिकाले बताएकी छिन् । प्रहरीले पनि उजुरी आएपछि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कपिल शाहीले आरोपित कुश्माकर फरार रहेको तर उनका बाबु आमा र पीडितसँग सोधपुछ भइरहेको जानकारी दिए ।


विश्व खबर 




















