काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँएर एकै घरका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –१० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा ७० वर्षीया वृद्धा गौरी थापा र उनका नाति छन् । बालकको परिचय खुल्न नसकेको सुवेदीले जानकारी दिए ।
राति करिब २ बजे करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घरमुली पूर्णबहादुर थापासहित दुई जना सामान्य घाइते भएका छन् ।
बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ । पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
यस्तै रोल्पाकै सुलिन स्मृति गाउँपालिका–२ सुनिचौरमा मर्मतका लागि राखेको रोल्पा सनलाइट बोडिङ्ग स्कुलको बस फगाम खोलाले बगाएको प्रहरीले जनाएको छ । रोल्पाकै सुनछहरी गाउँपालिका–६ मा नोवाङखोला लघुजलविद्युत आयोजनाको करिब ५० मिटर बाँध बाढीले बगाएको प्रहरीले जनाएको छ ।- फाइल तस्बिर
पुलमाथि खोला बग्दा अरनिको राजमार्ग अवरुद्ध
अविरल वर्षाले काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले बनेपा पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ ।
पुण्यमाता खोला धनेश्वर पुलमाथिबाट बगेपछि यातायात अवरुद्ध भएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । खत्रीका अनुसार पुल भन्दा करिब दुईसय मिटरमाथिबाट पानी बगेको छ ।
विहानैदेखि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव हेर्दा तत्काल बाढी कम हुने अवस्था रहेको खत्रीले बताए । उनले जेसिबी प्रयोग गरेर सवारीसाधन खोल्ने प्रयास भइरहेको जानकारी दिए ।
उक्त डुवानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास वर्षेनी डुवानमा पर्दै आएको छ । मानव बस्तीले खोला साँगुरो पार्दै आएपछि डुवान हुन थालेको हो ।


विश्व खबर 



















