images
images
  • कर्णाली राजमार्गमा गएको पहिरोमा एकको मृत्यु, राजमार्ग अवरुद्ध

    सुर्खेत- कर्णाली राजमार्गको कालिकोटको शुभकालिका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालिका गाउँपालिका–१ की २५ वर्षीया विमला सुनारको मृत्यु भएको हो ।

    सुनारलाई राजमार्ग माथिबाट आएको ढुंगाले च्यापिएको अवस्थामा भेटिएको र प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोटतर्फ पठाउँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख (डिएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

    वर्षातका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका कारणले अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए ।

    ‘बिहान दैलेख र कालिकोटको सीमानामा पर्ने कालेखोला र एसमोडमा पहिरो खसेको छ,’ उनले भने, ‘पहिरोका कारण यो राजमार्गमा आवतजावत गरिरहेका यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।’ अहिले पहिरो पन्छाउने काम भइरहे पनि वर्षा निरन्तर भइरहेका कारण समस्या भएको प्रहरी प्रमुख शाहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images